स्वयंसेवी रक्तदाता समाजको अधिवेशन : सबैका लागि नि:शुल्क रगत प्रमुख एजेण्डा

1.3K

स्वयंसेवी रक्तदाता समाजको अधिवेशन : सबैका लागि नि:शुल्क रगत प्रमुख एजेण्डा

रगतको व्यवस्थापनमा काम गर्दै आएको नेपाल स्वयम् सेवी रक्तदाता समाजको यहि बैशाखको १६ र १७ गते बुटवलमा चौथो राष्ट्रिय अधिवेशन हुँदै छ । नयाँ नेतृत्व चयन समेत हुनेगरी आयोजना गर्न लागिएको अधिवेशनको प्रमुख एजेण्डा ‘सबैका लागि निःशुल्क रगत’ तय गरिएको समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताउनु भयो ।
‘रक्तदान–मानव जीवनमा अतुलनीय, अनुकरणीय काम’ भन्ने नारासहित आयोजना गरिएको यो अधिवेशनमा मुलतः रगतलाई निःशुल्क गराउनको लागि सरकारलाई दवाव सिर्जना गर्ने कुरामा केन्द्रित हुने उहाँको भनाई छ ।
अहिले कतिपय प्रदेश सरकार र स्थानीय तहहरुले रगतलाई निशुल्क गर्ने निर्णय लिएपनि कार्यान्वलयनमा फितलोपना देखिएको भन्दै त्यसको व्यवहारिक कार्यान्वयनमा समेत जोड दिईने समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलिया बताउनु हुन्छ । रेडक्रस शोसाईटीले रगतमा विचौलियाको काम गरिरहेको आरोप लगाउँदै उहाँले त्यसलाई रोक्नको लागि अधिवेशन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
वर्षमा सरकारले २५ करोड रुपैंया बजेट विनियोजन गर्ने हो भने सबैका लागि निशुल्क रगत उपलब्ध हुने र रक्तदाताले स्वतस्फूर्त उपलब्ध गराएको रगतमा शुल्क लिनु विक्रिवितरण गर्नु सरह भएको बताउँदै केन्द्रीय उपाध्यक्ष थपलियाले रेडक्रसले रगतमा विचौलियाको काम गरिरहेको आरोप लगाउनु भएको हो ।
रगत तथा रक्ततत्व व्यवस्थापनको काममा धेरै कठिनाई भोग्दै यहाँसम्म आएको बताउँदै केन्द्रीय अध्यक्ष कर्माचार्यले पनि संस्थागत रुपमा उठाएको मुद्धा सम्बोधनको लागि सरकार पनि तयार हुनुपर्ने बताउनु भयो । उहाँले निःशुल्क रगतको लागि संघीय सरकारले नै सम्बोधन गर्ने हो भने कार्यान्वयनमा सहज हुने बताउँदै आफूहरुको बहस त्यतातिर केन्द्रित भएको बताउनु भयो ।
‘रक्तदाताले स्तस्फूर्त उपलब्ध गराएको रगतको व्यवस्थापनमा २८७ रुपैंया खर्च आउँछ ।’ उहाँले भन्नुभयो–‘तर यहाँ रक्तसञ्चार सेवा केन्द्रले विरामीबाट ९७५ रुपैंयासम्म असुल्ने गरेको छ ।’ यो नाजायज भएकाले यसका विरुद्ध पनि आफूहरुको संघर्ष भएको उहाँले बताउनु भयो । २५ शैयासम्मका अस्पतालमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्न पाउने सरकारले नीतिगत व्यवस्था गरेको छ । यो व्यवस्थालाई पनि संशोधन गरेर अनिवार्य गर्नुपर्ने उहाँको भनाई छ ।
स्वयम् सेवी रक्तदाता समाज रुपन्देहीले रगतको व्यवस्थापनमा नमुना जिल्लाको रुपमा पहिचान बनाएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रक्तदान गर्दै आएको रुपन्देही शाखाले अहिलेसम्म १२१ पटक रक्तदान गरिसकेको छ भने २५ हजार युनिट बढी रगत संकलन भएको अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी गराउनु भयो । यो अधिवेशन व्यवस्थापनको संयोजन पनि रुपन्देही शाखाले गरेको छ ।
रक्तदाताले स्वतस्र्फत उपलब्ध गराएको रगतमा विरामीले मुल्य तिर्नुपर्ने अवस्थाको अन्त्यको लागि समाजले अभियान चलाएको धेरै स्थानीय तह र प्रदेश सरकारबाट समेत सम्बोधन भएको अध्यक्ष चौहानले बताउनु भयो । त्यसैको लागि रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) खोल्ने अभियानमा आफूहरु लागेको पनि उहाँले जानकारी गराउनु भयो ।
अहिलेसम्म स्वयम् सेवी रक्तदाता समाजको ३४ जिल्लामा शाखा रहेका छन् । दुई दिनसम्म सञ्चालन गरिने अधिवेशनमा एक जिल्लाबाट तीन जना प्रतिनीधि र एकजना पर्यावेच्छेक गरी ४ जना सहभागि हुने स्थानीय संयोजक चौहानले जानकारी गराउनु भयो ।