लायन्स क्लव अफ बुटवल युथले तिलोत्तमा माध्यमिक विद्यालयलाई ईलेक्ट्रोनिक सामान प्रदान गरेको छ । क्लवले सोमबार कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयलाई ८ थान पंखा प्रदान गरेको हो ।
क्लवले प्रदान गरेको पंखा विद्यालयलाई हस्तान्तरण गर्दै लायन्स डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजूले बुटवलको बिच भागमा रहेर पनि विद्यालयको स्तरोन्नती हुन नसक्नु सबैको लागि दुःखको कुरा भएको बताउनु भयो । उहाँले विद्यालयलाई अगाडि बढाउनको लागि विद्यालय व्यवस्थापन समितिले राम्रो योजना बनाउनु र विद्यालयको स्तरोन्नतीमा सघाउन लायन्स क्लवहरुलाई हातेमालो गर्न पनि आग्रह गर्नुभयो ।
त्यस्तै बुटवल वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले आर्थिक स्थिती कमजोर भएका परिवारका बालबालिकाले पढ्ने उक्त विद्यालयको अवस्था सुधार गर्नको लागि सबैको साथ सहयोग आवश्यक पर्ने भनाई राख्नुभयो ।
क्लवले दिएका पंखा ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवालीले विद्यालयमा अति आवश्यक भएको पंखा उपलब्ध गराएकोमा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयको आयस्रोत पनि कमजोर रहेको र पंखा नहुँदा साना बालबालिकाले अत्यधिक गर्मिको सामना गर्न बाध्य भएको बताउँदै क्लवको यो सहयोगले केही भएपनि राहत मिल्ने भनाई राख्नुभयो ।
त्यस्तै क्लवका अध्यक्ष विष्णु काफ्लेले विद्यालयको अवस्था र पंखाको अभावमा साना बालबालिकाले भोग्नु परेको दुःखलाई मध्येनजर गरेर विद्यालयलाई पंखा प्रदान गरिएको बताउनु भयो । अवका दिनमा पनि क्लवले विद्यालयलाई आवश्यकता अनुसार सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।