तिलोत्तमा मेयरकप व्याडमिन्टन प्रतियोगिताको उपाधि लुम्बिनी स्पोट्सलाई

1.3K

तिलोत्तमा मेयरकप व्याडमिन्टन प्रतियोगिताको उपाधि लुम्बिनी स्पोट्सलाई

रुपन्देहीको तिलोत्तमामा सम्पन्न पाँचौं मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि लुम्बिनी स्पोट्स क्लवले हात पारेको छ । आईतबार सम्पन्न प्रतियोगितामा लुम्बिनी स्पोट्स क्लवका सुमित पुन र नरबहादुर बुढाको टिमले साविक विजेता तिलोत्तमा व्याडमिन्टन क्लवलाई पराजित गर्दै प्रथम पुरस्कार हात पारेको हो ।
तिलोत्तमा व्याडमिन्टन क्लवको तर्फबाट पदम थापा र थमन सारुको टिमले प्रतिस्पर्धा गरेको थियो । उपाधि प्रतिस्पर्धामा हार व्यहोरेको तिलोत्तमा व्याडमिन्टन क्लव दोस्रो भएको छ । त्यस्तै लुम्बिनी स्पोट्सबाट अनिस थापा र एन्ड्रोनिक्स थापा तथा सोही क्लवका जीवन थापा र सुन्दुर गुरुङको जोडि तेस्रो भएको आयोजकले जानकारी गराएका छन् ।
प्रतियोगितामा उपाधि विजेतालाई ५० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै दोस्रोलाई ३० हजार रुपैंया र तेस्रो भएका दुबै टिमलाई दश दश हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
२६ टिमले प्रतिस्पर्धा गरेको यो प्रतियोगितामा विधागत रुपमा अनुशासित खेलाडिको रुपमा सुरज गुरुङ र बसन्त घर्ती मगर तथा १४ वर्षका लेलिन रानालाई उदियमान खेलाडिको रुपमा पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक पदम थापाले जानकारी गराउनु भयो ।
प्रतियोगिताको समापन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा खेल पर्यटनको विकासको लागि खेलकुदलाई प्राथमिकता दिएको र सोही अनुसार विगत ५ वर्षदेखि मेयर कप व्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले खेलकुदको विकासले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सकिने भनाई राख्नुभयो ।
त्यस्तैगरी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, जिल्ला व्याडमिन्टन संघ रुपन्देहीका अध्यक्ष महेन्द्र श्रेष्ठ, तिलोत्तमा व्याडमिन्टन क्लवका अध्यक्ष गोविन्द भुसाल लगायतले भनाई राख्नुभएको थियो ।