रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अटिजम विद्यालय सञ्चालन गर्ने

62

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अटिजम विद्यालय सञ्चालन गर्ने

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अघिल्लो वर्ष सञ्चालनको तयारी गरेको अटिजम विद्यालय यो वर्ष सञ्चालन गर्ने गरी कामहरु अगाडि बढाएको छ । क्लवले रुपन्देहीको तिलोत्तमा नगरपालिमामा रहेको शान्ति नुमना माध्यमिक विद्यालयमा अटिजक कार्यक्रम सञ्चालनको तयारी गरेको थियो ।
वर्ष २०२२/२३ मै विद्यालयमा अटिजम कार्यक्रम सञ्चालन गर्ने गरी तयारी गरिए पनि क्लवले एक्लै सञ्चालन गर्न नसक्ने र डोनर एजेन्सीहरु प्रकृयामा रहेका कारण अघिल्लो वर्ष सञ्चालन गर्न नसकिए पनि यो वर्ष सञ्चालनमा आउने क्लवका निवर्तमान अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो ।
हालै सम्पन्न भएको वर्ष २०२३/२४ को लागि निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रममा पनि निवर्तमान अध्यक्ष भण्डारीले क्लवले सञ्चालन गरेका तथा पाईपलाईनमा रहेका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै त्यसमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सञ्चालनमा रहेका र पाईपलाईनमा रहेका कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउने क्लवमा पनि तयारी छ । पदहस्तान्तरण कार्यक्रममा पदभार ग्रहण गर्दै क्लवका नवनिर्वाचित अध्यक्ष निरज श्रेष्ठले क्लवले सञ्चालन गरेका सबै कार्यक्रम र तयारी अवस्थामा रहेका सबै कार्यक्रमलाई निरन्तरता दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अटिजम विद्यालय क्लवको गौरवका रुपमा लिएको बताउँदै यो कार्यक्रमलाई यथाशक्य चाडो सञ्चालन गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले त्यसबाहेक क्लवले सञ्चालन गरेका सबै कार्यक्रमलाई निरन्तरता दिईने र नयाँ कार्यक्रमहरु पनि सञ्चालन गरिने भनाई राख्नुभयो । पद हस्तान्तरण गर्दै वर्ष २०२२/२३ का अध्यक्ष भण्डारीले सबैको सहयोगले गर्दा आफ्नो कार्यकालमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्न सकिएको बताउँदै आगामी दिनमा पनि आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रोटरी इन्टरनेश्नल डिस्ट्रिक ३२९२ जोन ३० का एजी राजु खरेलले नयाँ नेतृत्वबाट क्लब थप उचाइमा पुगोस भन्दै कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । जोन २७ का आगामी असाइन एजी कृष्णबहादुर रावल, रोटरी डिष्ट्रिकका एजी तथा क्लवका पूर्व अध्यक्ष कृष्णप्रसाद शर्मा लगायतले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्नुभएको थियो । क्लबका उपाध्यक्ष देवीराम पाण्डेको स्वागत, सचिव शंकरप्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।