इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई परीक्षा २०७९ मा उत्तिर्ण विद्यार्थीलाई सम्मान गरिएको छ । मंगलबार आयोजित सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, विद्यालयका अध्यक्ष गोविन्द प्रसाद मरासिनी, संचालक रामराज पोख्रेलले विद्यार्थीलाई सम्मान गर्नुभएको हो ।
विद्यालयबाट एसइईमा सहभागी २५ जना मध्ये २ जना ए प्लस ७ जना ए, ६ जना बि प्लस, ४ जना बि र ६ जनाले सि प्लस ग्रेड प्राप्त गरेका थिए । सो अवसरमा अंग्रेजी, गणित, कम्प्युटर, स्वास्थ्य तथा शारीरिक शिक्षा लगायतका विषयमा ४ जिपिए ल्याउने १२ जना विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो । त्यसै अवसरमा उत्कृष्ट ४ जना शिक्षकलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष डा. कृष्ण खरेलले सिकाई जीवनका लागि हुनुपर्ने भएकाले धेरै अंक प्राप्त गर्ने हौसिने र कम अंक प्राप्त गर्ने निरुत्साहित हुन नहुने भन्दै मेहनत गर्न छोड्न नहुने धारणा राख्नु भएको थियो ।
विद्यालयका संचालक रामराज पोख्रेलले वर्षभरिको पढाईलाई तीन घण्टे परिक्षाले विद्यार्थीको यथार्थ मुल्याङ्कन नहुने हुँदा खास मुल्याङ्कन विद्यार्थीले सिकेको सिपबाट हुने बताउनुभयो । स्कुलका कोर्डिनेटर मित्रजन भण्डारीको संचालन तथा कोर्डिनेटर माया पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा एसइई २०७९ का उतृर्ण विद्यार्थी सजना थापाले भनाई तथा अनुभव राख्नुभएको थियो ।