रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिएको छ । तिलोत्तमा नगरपालिकाले आईतबारदेखि नगरपालिका भित्र किसानले पालेका गाई भैसीमा लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरेको हो ।
पशुमा लगाईने लम्पी स्किन विरुद्धको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले किसानको पशुधन सुरक्षाको लागि नगरपालिकाले नीति कार्यक्रममै सम्बोधन गरेर बजेटको समेत व्यवस्था गरी नगरपालिका भित्र रहेका सबै पशुमा खोप लगाउन लागिएको बताउनु भयो ।
उहाँले पशुधनमा हुने क्षेतीले किसानलाई मात्रै नभएर राष्ट्रिय उत्पादनमा समेत असर गर्ने भन्दै रोगबाट बचाउनको लागि आफ्ना पशुमा खोप लगाएर सहयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाले नगरसभाबाट लम्पी स्किन विरुद्धको खोप लगाउनको लागि २० लाख रुपैंया वजेट विनियोजन गरेको पनि उहाँले जानकारी गराउनु भयो ।
त्यस्तै उपप्रमुख जागेश्वरीदेवी चौधरीले किसानको पशुधनको सुरक्षा गर्ने नगरपालिकाको दायित्व भएको र सोही अनुसार खोप लगाउन सुरु गरिएको बताउनु भयो । उहाँका अनुसार पहिले किसानका पशुमा लगाईने छ भने त्यसपछि छाडा पशुमा पनि लगाईने छ ।
नगरपालिकाभित्र हाल ५ हजार २ सयको हाराहारीमा गाई भैसी रहेका छन् । त्यसमध्ये करिव १ हजार २ सय पशुमा लम्पी स्किन संक्रमण भेटिएको र त्यसमध्ये पनि ८४ वटा पशु (गाई) मरिसकेको तिलोत्तमा नगरपालिका पशु शाखा प्रमुख पशु चिकित्सक उर्जा देवकोटाले जानकारी गराउनु भयो । पशुमा हुने लम्पी स्किनको संक्रमण देशभर फैलिएको छ ।