लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले शुरु गरे संयुक्त डिग्री

1.3K

लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले शुरु गरे संयुक्त डिग्री

लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले संयुक्त रुपमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषय प्राध्यापन शुरु गरेका छन् । दुई विश्वविद्यालयको संयुक्त डिग्रीको कक्षा सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा गर्ने भएको हो ।
संयुक्त डिग्रीको शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शुक्रबार बुटवलमा आयोजिक एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभयो । सो अवसरमा बोल्दै राज्यमन्त्री प्रमिला कुमारीले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले शुरु गरेको शैक्षिक कार्यक्रम कोशेढुंगा सावित हुने बताउनु भयो । ‘बुद्ध शिक्षा र पर्यटन एक आपसमा परिपुरकछन ।’ उहाँले भन्नुभयो–‘बौद्ध विश्वविद्यालयले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नुपर्छ ।
बौद्ध दर्शन र पर्यटनलाई जोडेर शैक्षिक जनशक्ति उत्पादन गर्दा मुलुकको पर्यटन विकासमा ठूलो उपलब्धी हासिल भएको उहाँले बताउनु भयो । उच्च शिक्षाको गुणस्तरीयताका लागि विश्वविद्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताउदै अन्तर्राष्ट्रिय प्रतिष्पर्धी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टार डा. तिलकराम आचार्यले काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनका लागि यो कार्यक्रम शुरु गरिएको बताउनु भयो । गत असार २१ गते सहकार्य सम्झौता भई एक महिनाभित्रमै शैक्षिक कार्यक्रम सार्वजनिक गरिएको भन्दै यस कार्यक्रमलाई सफल बनाउने दायित्व सबैको रहेकोमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका विषय समिति अध्यक्ष उज्ज्वल सत्यालले विश्वविद्यालयहरु खाली भइरहने अवस्था आएको भन्दै अव सीपयुक्त जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुले विश्वविद्यालयहरुबीच टिमवर्कमा कार्य गर्नु आवश्यकता रहेकाले काठमाण्डौं विश्वविद्यालयसंग सहकार्यमा शैक्षिक कार्यक्रम शुरु गरिएको बताउनु भयो । शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयसंग निरन्तर सहकार्य भइरहने उहाँको भनाई छ । नयाँ शुरु गरिएको कार्यक्रममा यसै शैक्षिक सत्रबाट भर्ना शुरु गरिने जनाइएको छ । बुटवलको सिटी क्याम्पसमा पठनपाठन हुने दुई विश्वविद्यालयबीच सहमति भएको छ ।