अन्य जिल्लाहरुमा डेंगीको संक्रमण महामारीको रुपमा फैलिरहँदा रुपन्देहीमा भने यसको संक्रमण नियन्त्रण भित्रै रहेको छ । सुरुदेखि नै पालिकाहरुले डेंगी विरुद्धको अभियान सञ्चालन गरेका कारण यसको राम्रो प्रभाव परेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले जानकारी गराउनु भयो ।
उहाँका अनुसार आजको मितिमा जिल्लामा दुई जना मात्रै सक्रिय संक्रमित छन् । उनीहरुको उपचार भईरहेको छ । यो वर्ष डेंगीको संक्रमण फैलिन सुरु गरेयता रुपन्देहीमा अहिलेसम्म ५६ जनामा संक्रमण भएको छ । बाँकी ५४ जनालाई निको भईसकेको पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तै चालु आर्थिक वर्ष सुरु भएयता (साउन यता) २० जनामा संक्रमण भएको छ ।
यो तथ्यांक पनि रुपन्देही जिल्लाको मात्रै होईन । जिल्लाको मात्रै हेर्ने हो भने धेरै कम रहेको सूचना अधिकारी शर्मा बताउनु हुन्छ । उहाँका अनुसार बाहिरी जिल्लाबाट पनि उपचारको लागि आउने र यहाँ उपचार भएका विरामीको रेकर्ड राखिने भएकाले जिल्लाको रेकर्डमा देखिएको हो ।
डेंगीको संक्रमण सुरु हुनासाथ जिल्ला स्वास्थ्य कार्यालय तथा पालिकाहरुले खोज र नष्ट गर अभियानका साथै सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् । बुटवल उपमहानगरपालिकाले पनि सुरुवाती समयदेखि नै खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ भने सचेतनाको कार्यक्रम समेत सञ्चालन गरिएको कारण डेंगीको संक्रमण फैलिन नपाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताउनु भयो । उहाँका अनुसार यो अभियान निरन्तर रुपमा चलिरहने छ ।
जिल्लामा संक्रमण नियन्त्रण भित्रै रहेपनि डेंगी विरुद्धको अभियान नियमित रुपमा सञ्चालन भईरहने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण बताउनु हुन्छ । डेंगीको संक्रमण नियन्त्रणको लागि पालिकाहरुले सञ्चालन गरेको अभियानमा रेडक्रस, स्वास्थ्य संघसंस्था तथा सामाजिक संघसंथा र वडा तथा टोल विकास संस्थाहरुले प्रत्येक्ष रुपमा सहकार्य गरेका छन् । यसले पनि नगरपालिकाले सञ्चालन गरेको अभियानलाई धेरै सजिलो भएको नगरप्रमुख खाँण बताउनु हुन्छ ।
जिल्लाका सबै पालिकाले यो अभियान सञ्चालन गरेका कारण डेंगीको संक्रमण नियन्त्रण भित्रै रहेको र यो अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्न सकियो भने यसलाई नियन्त्रणमै राख्न सकिने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी शर्मा बताउनु हुन्छ ।