एड इन्टरनेशनल एजुकेशनको पहिलो शाखा बुटवलमा

50

एड इन्टरनेशनल एजुकेशनको पहिलो शाखा बुटवलमा

काठमाण्डौको बागवजारमा सञ्चालमा रहेको एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन गरिएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान गर्नेगरी काठमाण्डौमा २०७७ सालमा स्थापना भएको एड इन्टरनेशनल एजुकेशनको यो पहिलो शाखा हो ।
बुटवल शाखाको सोमबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले वैदेशिक शिक्षाको लागि गएका युवाहरुलाई स्वदेशमा फर्किएर देशको विकासमा जुट्न आग्रह गर्नुभयो । उहाँले शिक्षाको लागि विदेश गएका युवाहरु उतै पलायन हुने प्रबृत्तिका कारण देशको विकास हुन नसकेको बताउँदै उहाँ पाएको शिक्षा नेपालमा आएर प्रयोगमा ल्याउन आग्रह गर्नुभएको हो । उहाँले शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्याउनको लागि लुम्बिनी प्रदेश सरकार निरन्तर लागेको भनाई राख्नुभयो । मन्त्री गुप्ताले अव छिटै संघीय शिक्षा ऐन आउन लागेको र त्यसपछि प्रदेशले पनि प्रदेश शिक्षा ऐन ल्याउने जानकारी गराउनु भयो । प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्नको लागि ४ अर्व बजेट छुट्याएको जानकारी गराउँदै यो कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि सबैको साथ सहयोगको लागि आग्रह गर्नुभयो ।

एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक दीपक लामिछानेले कन्सल्टेन्सी स्थापना पछि सयौंको संख्यामा विद्यार्थीलाई वैदेशिक शिक्षाको लागि विभिन्न देशमा पठाएको बताउँदै अब नेपाललाई पनि शैक्षिक गन्तव्य बनाउनको लागि पहल भईरहेको जानकारी गराउनु भयो । उहाँले बुद्धिजम लगायतका विषयमा नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने बताउँदै त्यस विषयमा पहल भईरहेको र निकट भविश्यमा यसले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी बुटवलसंग अरु प्रदेशमा पनि शाखा विस्तार गरिने जानकारी गराउनु भयो ।
त्यस्तै एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी बुटवल शाखाका प्रवन्धक कृष्ण पाण्डेले विधि प्रकृया पुरा गरेर पारदर्शी रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पछिल्लो सयममा कलेजमा भन्दा पनि कन्सल्टेन्सीमा विद्यार्थीको चाप बढी देखिएको बताउँदै वैदेशिक शिक्षाको लागि जाने विद्यार्थीले उहाँ पढेका र सिकेका सीपलाई नेपालमा आएर प्रयोग गर्न सुझाव दिनुभयो ।