बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शिक्षा र स्वास्थ्य सामान्य नागरिकको पहुचभन्दा धेरै टाढा पुगिसकेको बताउँदै कमभन्दा कम शुल्कमा कसरी उपचार गर्न सकिन्छ, त्यो पद्धतीको खोजी हुन आवश्यक रहेको बताउनु भएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीको सोमबार बुटवलमा भएको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै शिक्षा र स्वास्थ्यलाई सामान्य नागरिकको पनि पहुँचमा ल्याउनको लागि बुटवल उपमहानगरपालिका फरक ढंगले काम गर्न तयार रहेको र यहाँका अरु संघसंस्थालाई पनि त्यस विषयमा सोच बिचार र चिन्तन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘स्थास्थ्य र शिक्षामा सबैको पहुँच आवश्यक छ, त्यसको लागि कस्तो विधि पद्धती अवलम्बन गर्दा वैज्ञानिक हुनसक्छ, तपाईका सुझाव सल्लाह अनुसार अगाडि बढ्न हामी तयार छौं ।’
उहाँले बुटवलको खस्किदो व्यापारलाई उकास्नको लागि पनि नगरपालिका लागि परेको बताउनु भयो । त्यसको लागि नगरपालिकाले तयार गरेको योजना अनुसारको काममा सहयोग तथा सहकार्य गर्न आग्रह गर्नुभयो ।
त्यस्तै प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक, केन्द्रीय सदस्य अखिलेश्वर पाण्डेले मुटु शरीरको महत्वपूर्ण अंग रहेको र मुटु स्वास्थ्य सुरक्षामा जनचेतनामुलक काम गर्नको लागि संस्था स्थापना गरिएको बताउनु भयो । पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगको व्यापकता रहेको र यसमा शहरीया जीवनशैली प्रमुख कारण रहेको उहाँको भनाई छ ।
लायन्स डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजूले प्रतिष्ठानले गर्ने हरेक काममा सहकार्यको लागि लायन्स तयार रहेको बताउनु भयो । उहाँले हृदयरोग निवारणका लागि प्रतिष्ठानले गर्ने कामको योजना बनाउन र त्यसमा लायन्सले के गर्नुपर्छ सूचना आदान प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरु जीवनप्रसाद वझा, अर्जुन रानाभाट, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष तेजकुमार पाठक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारण सभामा प्रतिष्ठानका अध्यक्ष निर्मलप्रसाद लाकौलले प्रस्तुत गर्नुभएको वार्षिक तथा कोषाध्यक्ष उज्ज्वलप्रसाद कसजूले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । कार्यक्रम सचिव नरेशकुमार श्रेष्ठकाे सञ्चालनमा भएकाे थियाे ।