चिकित्सकलाई हातपात गर्नेलाई कडा कारवाही गर्न फार्मेसी संघको माग

1.3K

चिकित्सकलाई हातपात गर्नेलाई कडा कारवाही गर्न फार्मेसी संघको माग

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा डाक्टरमाथि भएको आक्रमणको भ्रत्सना गर्दै नेपाल फार्मेसी संघ रुपन्देहीले दोशीलाई कडा कारवाहीको माग गरेको छ । अस्पतालमा सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर भएको छलफलका क्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्याललाई कुटपिट भएको थियो । कुटपिटपछि उहाँ आईसीयुमा उपचाररत हुनुहुन्छ ।
संघले बुधबार एक विज्ञप्ती जारी गरी उक्त अपराधिक कार्यको भ्रत्सना गर्दै दोशीलाई कारवाहीको माग गरेको हो । ‘विवाद समाधान गर्न बार्तामा बसिरहेको अवस्थामा गुण्डागर्दी शैलीमा भएको कुटपिटप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’ संघका अध्यक्ष गणेशप्रसाद सेढाई र महासचिव उदयबहादुर खत्रीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘बिरामीको मृत्यु भएको घटनालाई अतिरन्जित गरि चिकित्सकलाई नै हातपात गर्ने जस्तो अमानवीय, गैर कानुनी तथा अपराधिक कार्यको संघ घोर भ्रत्सना गर्दछौं । अपराधमा संलग्नलाई हदैसम्मको कानुनी कारवाहीको लागि पनि संघले माग गरेको छ ।
मंगलबार सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी करिव ३५ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसंगै विवाद बढेपछि मृतकका आफन्तहरुले छलफलका क्रममा बिहिबार राती अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका थिए ।