बुटवलमा पाठेघरको मुख तथा स्तनमा हुने क्यान्सर सम्बन्धि प्रारम्भिक परीक्षण शिविर

1.3K

बुटवलमा पाठेघरको मुख तथा स्तनमा हुने क्यान्सर सम्बन्धि प्रारम्भिक परीक्षण शिविर

लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवीको आयोजनामा बुटवलका विभिन्न स्थानमा पाठेघरको मुख तथा स्तनमा हुने क्यान्सर सम्बन्धि प्रारम्भिक परीक्षण शिविर गरिएको छ ।
बुटवल उपमहानगरपालिकाको समन्वय तथा नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाण्डेसन–बनेपाको प्राविधिक सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं. १६ नरेनापुर आधारभूत विद्यालय, बुटवल ८ स्थित क्लवको सचिवालय र बुटवल ११ स्थित नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा पाठेघरको मुख तथा स्तनमा हुने क्यान्सर सम्बन्धि प्रारम्भिक परीक्षण शिविर गरिएको हो ।
तीन वटा स्थानमा गरिएको शिविरमा साढे ५ सय बढी महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसमध्ये ३० जनामा भिआईए पोजेटिभ देखिएको र करिव १५० जना इन्फ्लेक्सन देखिएको लायन्स क्लव अफ बुटवल तिलोत्तमाका सचिव काशिराज ज्ञवालीले जानकारी गराउनु भयो ।
लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवीले क्लवको सचिवालयमा महिलाको पाठेघरको मुख तथा स्तनमा हुने क्यान्सर रोकथामका लागि नियमित क्लिनिक सञ्चालन गरिरहेको र समुदायस्तरमा जनचेतनाको लागि शिविर सञ्चालन गरिएको लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
यस्ता शिविर लगायतका कार्यक्रमले स्वास्थ्य शिक्षा र चेतनाको विकास गरी समयमै परीक्षण तथा उपचार गर्नुपर्छ भन्ने सचेत गराउने लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष सरोज श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले महिलाको पाठेघरको मुख तथा स्तनमा हुने क्यान्सरको रोकथामका लागि लायन्स क्लवले गरेको प्रयास सह्रानीय रहेको बताउँदै यसमा नगरपालिकाको तर्फबाट पूर्ण साथ सहयोग रहने बताउनु भयो । त्यस्तै लायन्स डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजू र फष्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले क्यान्सर विरुद्धको अभियानमा क्लवले गरेको काम राम्रो रहेको बताउँदै त्यसमा डिष्ट्रिकबाट पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।