ईक्यान रुपन्देहीको अध्यक्षमा पाण्डे

1.3K

ईक्यान रुपन्देहीको अध्यक्षमा पाण्डे

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा गिरीराज पाण्डे निर्वाचित हुनु भएको छ । संघको बिहिबार बुटवलमा सम्पन्न पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनले पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेशप्रसाद पाण्डे, सचिवमा गोविन्द बस्नेत र कोषाध्यक्ष दिपेश अर्याल निर्वाचित हुनु भएको छ । त्यस्तै कार्यसमिति सदस्यमा उपेन्द्र यादव, समिर सुवेदी, रामचन्द्र खरेल र अर्जुन पौडेल निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै ईक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले नीतिगत तहमा शैक्षिक परामर्शदातालाई केही सुधारको प्रयास गरिएको र त्यसमा सुधारको आशा पनि देखिएको जानकारी गराउनु भयो । उहाँले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई सहज बनाउन नेपाल शैक्षिक परामर्श संघ निरन्तर लागि परेको बताउँदै राज्यको बुझाई सकारात्मक भए काम गर्न पनि सहज हुने बताउँदै त्यसमा सबै व्यवसायी एकजुट हुनुपर्ने भनाई राख्नुभयो ।
संघका रुपन्देही जिल्ला अध्यक्ष देवबहादुर कुवँरले मोफसलबाट शैक्षिक परामर्शको सेवा प्रदान गरिएका कारण उपत्यका बाहिरका विद्यार्थीले सहजै सेवा पाएको बताउनु भयो । उहाँले संस्थागत विकास र दिईने सेवामा थप सुधार गर्नको लागि संघ लागि परेको बताउनु भयो ।
हाल नेपालमा प्लस टु तथा व्याचलर र मासटर्सका सरदर ७ देखि ९ लाख विद्यार्थी ड्रपआउट हुने गरेका छन् । संघका महासचिव दीपकराज भुसालका अनुसार अघिल्लो वर्ष १ लाख १० हजार विद्यार्थीले एन.ओ.सी. (नो अब्जेक्सन लेटर) लिएका थिए । त्यसमध्ये ६० देखि ७० हजारको हाराहारीमा अध्ययनको लागि विदेश गएको देखिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा संघका पूर्व केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डे, केन्द्रीय उपाध्यक्ष द्वय भुवनबहादुर क्षेत्री, एण्डु पौडेल, कोषाध्यक्ष आशिष कार्की, क्यानका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुवँर, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनाल लगायतले भनाई राख्नु भएको थियो ।
साधारण सभामा संघका जिल्ला सचिव गिरीराज पाण्डेले प्रस्तुत गरेको वार्षिक तथा कोषाध्यक्ष राजेशप्रसाद पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।