बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

1.3K

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताउनु भयो । उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने बताउनु भयो । उहाँले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताउनु भयो ।
उहाँले बुटवल शिक्षामा अब्बल नगर रहेको र सोहीअनुसार खेल क्षेत्रमा पनि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमै ख्याति कमाउन सक्ने गरी विकास गर्ने योजना अगाडि बढाएको बताउनु भयो । प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरमा उपाधि हासिल गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेर प्रोत्साहन गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोहीअनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताउनु भयो । उहाँले रनिङ शिल्डलाई अवसरको रुपमा लिदै खेलाडी उत्पादनमा विशेष चासो दिन विद्यालयहरुलाई आग्रह गर्नुभयो ।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले ३ दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा १ हजार ४२२ विद्यार्थीले भाग लिने बताउनु भयो । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उहाँले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।
त्यसैगरी मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदान बापतको १ लाख गरी २१ लाख बजेट विनियोजन भएको छ ।