लोग्नेस्वास्नीको झगडाः ‘मान भर्सेस मती’को आज मैझारो

1.1K

लोग्नेस्वास्नीको झगडाः ‘मान भर्सेस मती’को आज मैझारो

isदीपेन्द्र सापकोटा

काठमाडौँ/ ‘शङ्काले लङ्का जलाउँछ’, ‘लोग्ने स्वास्नीको झगडा परालको आगो !’ यी दुई उखानको प्रयोग हाम्रो समाजमा प्रायः भइरहन्छ । सुन्धारास्थित थिएटर मलमा प्रदर्शनको आज मैझारो गरेको नाटक ‘मान भर्सेस मती’ले यी दुवै उखानलाई चरितार्थ गरेको छ । केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशनको नाटकमा शङ्काले लङ्का जलाए पनि लोग्ने स्वास्नीको झगडा अन्ततः परालको आगोमा परिणत भइदिन्छ । नाटकको कथा यस्तो छ – एउटा मध्यमस्तरको जागिरे (अभय बराल)को डेरामा श्रीमती (प्रेमवर्षा खड्का), भाइ (कुशल पाण्डे) र छोरा (फुटबलको बललाई छोरा बनाइएको छ) सहितको परिवार बस्छन् । श्रीमान् परिवारको जीविकोपार्जनका लागि अफिसमा मरिमेटेर काम गर्छन् तर श्रीमतीलाई हिन्दी टेलिसिरियल हेरेर त्यसैकाबारेमा साथीसँग चर्चा गरेरै समय बित्छ । कलेजमा अध्ययनरत विदेशी सङ्गीतका पारखी भाइ अलि आवारा छन्, उनका क्रियाकलापले देखाउँछ उनी व्यावहारिक हुन बाँकी छ ।
सम्पूर्ण घरको जिम्मेवारी श्रीमान्को हातमा छ अरुलाई केही वास्ता छैन । उल्टो अफिसबाट लखतरान भएर घर फर्कदा पनि समयमा खाना खान नपाउँदा दिनहुँ रिसले आगो हुन्छन् । अर्कोतिर श्रीमती भने श्रीमान् आफूसँग बेखुसी देखेर अर्कै केटीसँग सम्बन्ध रहेको शङ्का गर्छिन् । यही कुराले दुईबीच ठाकठुक परिरहन्छ । तैपनि, सम्बन्ध सुधार्ने कोसिसमा रहेका श्रीमान्ले श्रीमतीलाई रेस्टुराँमा खाना खान लैजान्छन् । तर परिवारकै सदस्य (भाइ)को आवारापनबीचमा घुस्दा सम्बन्धमा झन् दरार उत्पन्न हुन्छ । तर तीनै भाइले रहस्य खोलेपछि असमझदारीको कारणलाई चिर्दै नाटक सकिन्छ र भुसको आगो हुन लागेको लाग्नेस्वास्नीको झगडा परालको आगोमा परिणत भइदिन्छ ।

नाटकको कथा सरल छ, तर प्रस्तुति बेजोड छ । एउटा मध्यमस्तरको जागिरेको घर व्यवहारलाई नाटकमा हास्य शैलीमा प्रस्तुत गरिएको छ । दर्शकले खित्का नछोडेको कुनै दृश्यमा छैन । अझ नाटकमा अधबैंसे यात्रु (रोशन सुवेदी)को प्रवेशले दर्शकलाई पेट मिचीमिची हाँस्नैपर्ने बनाएको छ नै, राजधानीको ट्राफिक जामलाई पनि व्यङ्ग्य गरेको छ । साथै, नाटकमा भोजपुरी चलचित्रको नायकको नखरा देखाएका पात्र (सवीर चुरौटे)को प्रस्तुति केही भद्धा लागे पनि दर्शकलाई मनोरञ्जन दिन्छ । त्यस्तै, श्रीमती पात्रका दुई साथी (शारदा अधिकारी र रोजिना श्रेष्ठ)को भूमिकाले पनि नाटकको विषयवस्तुमा स्थिरता कायम गर्न सघाउ पु¥याउँछ ।
भन्नैपर्दा, नाटकका मुख्य पात्रको भूमिका निभाएका अभय (बराल)ले जीवन्त अभिनय गरेका छन् । अन्य सबै पात्रको अभिनय औसतभन्दा राम्रै छ । छोराको पात्रमा फुटबलको बललाई खेलाएर नयाँ प्रयोग भएको छ । सेट डिजाइन, पृष्ठभूमि सङ्गीत तथा कलात्मक पक्ष केही फितलो लागे पनि कमजोरै भन्न मिल्दैन ।
समग्रमा भन्दा नाटकले दैनिक जीवनमा देखिने सामान्य गतिविधि र समस्यामा गम्भीर कुरा लुकेको देखाएको छ । यसमा हास्यशैली हावी भएको देख्दा लाग्छ, नेपाली टेलिभिजनमा प्रसारण हुने लोकप्रीयमध्येका केही हास्य टेलिसिरियल बन्द भएका बेला यही नाटक हेरेर दर्शकले चित्त बुझाउन सक्छन् ।
पुस १० देखि २५ गतेसम्म नाटक चल्ने भनिए पनि दर्शकले अत्यधिक मन पराएपछि विशेष अनुरोधमा माघ २ सम्म प्रदर्शनको समय थपिएको आयोजकको भनाइ छ । रासस