वेस्टर्न मेगा र लुम्बिनी टेक इनोभेसनबीच सम्झौता : विद्यार्थीलाई अध्ययनसँगै रोजगारीको अवसर

1.3K

वेस्टर्न मेगा र लुम्बिनी टेक इनोभेसनबीच सम्झौता : विद्यार्थीलाई अध्ययनसँगै रोजगारीको अवसर

रुपन्देहीस्थित वेस्टर्न मेगा कलेज प्रालि र लुम्बिनी टेक इनोभेसन सेन्टर प्रालिबीच बि.आइ.टी. अध्ययनरत तथा उत्तीर्ण विद्यार्थीलाई इन्टर्नसिप र रोजगारीको अवसर उपलब्ध गराउने समझदारी भएको छ ।
सम्झौताअनुसार वेस्टर्न मेगा कलेजमा अध्ययनरत बि.आइ.टी. का विद्यार्थीहरूले कलेजको निर्धारित कक्षा समयपछि लुम्बिनी टेक इनोभेसन सेन्टरमा इन्टर्नसिप गर्न पाउनेछन् । अध्ययन पूरा गरेपछि योग्य विद्यार्थीलाई सोही कम्पनीमा रोजगारीको अवसरसमेत प्रदान गरिने कलेजले जनाएको छ ।
सम्झौतामा वेस्टर्न मेगा कलेजका तर्फबाट प्राचार्य अधिवक्ता किसु शर्मा तथा लुम्बिनी टेक इनोभेसन सेन्टरका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
कलेजका अनुसार इन्टर्नसिप तथा रोजगारीका क्रममा नेपाल सरकारको श्रम ऐन, २०७४ बमोजिम न्यूनतम तलब, कार्यसमय तथा आवश्यक सुविधा उपलब्ध गराइनेछ । यसबाट विद्यार्थीले अध्ययनसँगै व्यावसायिक अनुभव, सीप विकास र आम्दानी गर्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ ।
कलेजले दोस्रो सेमेस्टरदेखि नै इच्छुक विद्यार्थीलाई सूचना प्रविधि (आईटी) कम्पनीमा इन्टर्नसिप तथा रोजगारीका लागि पहल गर्ने योजना अघि सारेको जनाएको छ । इच्छुक विद्यार्थीले आवेदन दिएपछि आवश्यक समन्वय गरिने प्राचार्य शर्माले जानकारी दिएका छन् ।
कलेज प्रशासनका अनुसार अध्ययनकै क्रममा सम्बन्धित क्षेत्रमा काम गर्ने अवसर पाएपछि विद्यार्थीले व्यावहारिक ज्ञान र अनुभव हासिल गर्नेछन् । यसले स्नातकपछि रोजगारी पाउन सहज हुने मात्र नभई आफ्नै कमाइबाट शैक्षिक खर्चसमेत व्यवस्थापन गर्न सक्ने वातावरण सिर्जना हुने छ ।
वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीबीएस कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले चार वर्षदेखि बिआइटी कार्यक्रम सञ्चालन गरिरहेको छ ।