बुटवल १५, ढवाहास्थित वेस्टर्न मेगा कलेजले पूर्वविद्यार्थी कल्याण परिषद् गठन गरिएको छ ।
कलेजबाट अध्ययन पूरा गरी हाल विभिन्न क्षेत्रमा कार्यरत एमबिए र बिएचएम कार्यक्रमका पूर्वविद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा उनीहरूको योगदानको सम्मान गर्दै पूर्वविद्यार्थीहरूको संस्थागत सञ्जाल विस्तार गर्न परिषद् गठन गरिएको हो ।
कार्यक्रममा सन् २०११ देखि २०२४ सम्म अध्ययन गरेका विभिन्न ब्याचका पूर्वविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा अन्तरक्रियामार्फत कार्यक्रमलाई स्मरणीय बनाएका थिए ।
कलेजका प्राचार्य अधिवक्ता किरण शर्माले पूर्वविद्यार्थीहरू नै कलेजका वास्तविक परिचयवाहक भएको उल्लेख गर्दै उनीहरूले विभिन्न क्षेत्रमा हासिल गरेको सफलताले संस्थालाई गौरवान्वित बनाएको बताए। उनले कलेज र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन नवगठित परिषद्ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पूर्वविद्यार्थीहरूले पनि आफ्नो अनुभव बताउंदै कलेजले दिएको शैक्षिक र व्यावसायिक आधारप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा कलेजका विद्यार्थीलाई मार्गदर्शन, परामर्श तथा विभिन्न गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमबाट २०२५-२०२६ कार्यकालका लागि पूर्वविद्यार्थी कल्याण परिषद् गठन गरिएको छ । परिषद्को संरक्षकमा कलेजका प्राचार्य अधिवक्ता किशु शर्मा रहेका छन् भने संयोजकमा प्रभाकर चापागाईं, मेन्टरमा प्रकाश रायमाझी, अध्यक्षमा यम चापागाईं, उपाध्यक्षमा सन्तोष ढुंगेल, महासचिवमा योजना खनाल, कोषाध्यक्षमा फर्दिन मगर तथा सह–सचिवमा अनिश खनाल चयन भएका छन् । परिषद्का सदस्यहरूमा निर्मिका सुनारी, विशाल गौतम, कल्पना पाठक, मिलन राना, सुजन पाण्डे र सुमन मगर रहेका छन् ।
कलेजका अनुसार नवगठित परिषद्ले कलेज, पूर्वविद्यार्थी तथा वर्तमान विद्यार्थीबीच समन्वय, सहकार्य, करिअर विकास, सीप हस्तान्तरण र कल्याणकारी गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सञ्चालन संयोजक प्रभाकर चापागाईं ले गरेका थिए भने धन्यवाद ज्ञापन कलेजका कार्यक्रम संयोजक दुर्गा चापागाईं ले गरेका थिए । कलेजले आगामी शैक्षिक सत्रकाे लागि स्नातक तहमा बिआटी तथा बिएचएम र स्नातकोत्तर तहमा एमबिए कार्यक्रमका लागि नयाँ भर्ना खुला गरेको जनाएको छ ।