
बुटवल/प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्याय सम्पादनलाई आधुनिकरण र सरल बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन्। उनले न्याय महंगो छ भन्ने भ्रम छरिएको भन्दै न्याय महंगो नभएको स्पष्ट पारे।बागलुङ रुपन्देही सम्पर्क समाजले आइतबार बुटवलमा गरेको सम्मान कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले अदालतको विषयमा कहिकतै भ्रमहरु रहेको भन्दै ती भ्रमहरुलाई चिर्ने काम पनि अदालतले नै गर्नुपर्ने बताए।संविधान निर्माणपछि मुलुक नयाँ चरणमा प्रवेश गरेकाले राष्ट्रलाई संरक्षकत्व दिने काम अब न्यायालयको भएको श्रेष्ठले बताए। राजनीतिक सहमतिबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्न न्यायालयले सहयोग गर्ने र यसमा अरु सबैको पनि सहयोग चाहिँने प्रधान न्यायाधीश श्रेष्ठले बताए।उनले संविधानले निदृष्ट गरेका कुराहरुको कार्यान्वयन गर्नु अदालतको दायित्व भएको उल्लेख गर्दै अदालतले संविधानको इन्कार गर्न नसक्ने बताए।प्रधानन्यायाधीश श्रेष्ठले न्यायलय र जनताको सम्बन्ध धेरै नजिकको रहेपनि त्यो हुन नसकेकोले सुधार गर्नुपर्ने बताए। प्रधानन्यायाधीश श्रेष्ठले अदालतहरुलाई व्यवस्थित तथा मर्यादित बनाउन आफ्नो तर्फबाट जुनसुकै सहयोग पनि प्रँप्त हुने बताए।