मधेसी मोर्चाले तीन दललाई दियो ६ बुँदे जवाफ

मधेसी मोर्चाले तीन दललाई  दियो ६ बुँदे जवाफ

Barta

काठमाडौं । सीमांकनबारे प्रमुख तीन दलले अघि सारेको पाँचबुँदे प्रस्तावको मधेसी मोर्चाले जवाफ दिएको छ । राजनीतिक संयन्त्रमार्फत सीमांकन टुङ्गयाउन सहमत भएको उसले कार्यविधिमा भने मधेसमा दुई प्रदेश हुने उल्लेख गर्न माग गरेको छ ।

सिंहदरवारमा आइतबार बसेको कार्यदलको बैठकमा मधेसी मोर्चाले सीमांकनबारे ६ बुँदे प्रस्ताव राखेको छ । यसअघि शनिबार तीन दलले पाँचबुँदे प्रस्ताव गरेका थिए, जसमा मोर्चाले चित्त बुझाएको थिएन ।

आइतबारको बैठकमा मोर्चाले कार्यदलको टीओआरका लागि छबुँदे प्रस्ताव पेश गरेको एक सदस्यले बताए । सत्तारुढ दलहरुले त्यसमा सहमति जनाएका छैनन् । बैठकमा उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष भीम रावलले अहिले नै मधेसमा दुई प्रदेश हुन्छ भन्न नसकिने बताए ।

मोर्चाले राखेको प्रस्तावबारे शीर्ष नेताहरुसँग छलफल गरेर आउने सत्तारुढ दलहरुले बताएका छन् ।  स्रोतका अनुसार राजनीतिक संयन्त्रको अन्य टीओआरमा भने प्रमुख तीन दल र मधेसी मोर्चा सहमति नजिक छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सदभावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले भने-राजनीतिक संयन्त्रको टीओआरको विषयमा लामै छलफल भयो । दुबै पक्षबाट कुरा आयो र केहि कुरा मिल्यो । उच्च तहमा छलफल गर्न जरुरी भो ।’

बैठकपछि कार्यदलका सदस्य एवं कांग्रेस नेता महेश आचार्यले राजनीति संयन्त्रमा सहमतिमा हुने निर्णय संविधानको अंग बनाउन सकिने बताए । उनले भने-सबै कुरा टुङ्गएको छैन । सबैमा एकअर्काको धारणा सुनेका छौं र साझा धारणा बनाउने प्रयासमा छौं ।’

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •