बुटवलमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता हुँदै

1.3K

बुटवलमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता हुँदै

बुटवलमा प्रथम अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा यहि फागुनको १ र २ गते नगरपालिकाको कार्यालय परिषरमा प्रतियोगिता गर्न लागिएको हो ।
संस्कृतिको संरक्षण, सामाजिक एकता, पहिचानको अभिव्यक्ति, मनोरञ्जन र उत्सवको साथै विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आयोजना गरिएको सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
एउटा विद्यालयबाट एउटा मात्रै समुह सहभागि हुन पाउने उक्त प्रतियोगितामा भाग लिनको लागि बुटवल उपमहानगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ४४ विद्यालय दर्ता भएको प्रतियोगिताका संयोजक तथा बुटवल उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण पुनले जानकारी गराउनु भयो । उहाँका अनुसार एउटा समुहमा कम्तिमा ४ देखि बढीमा १४ जनासम्म कलाकारहरु नृत्यमा सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने समुहलाई १ लाख रुपैंया, द्वितीय हुने समुहलाई ६० हजार रुपैंया र तृतीय हुने दुई समुहलाई जनही २५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिने छ । पुरस्कार नगर स्थापना दिवसको दिन ३ गते आयोजना गरिने समारोहमा प्रदान गरिने छ ।