बुटवल मेयर कप फुटवलकाे उपाधि अक्सफाेर्ड माध्यमिक विद्यालयले हात पारेकाे छ । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको
सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।
बुटवलकाे देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ नगद पुरस्कार सहित शिल्ड पाएको छ ।
यस्तै उपबिजेतामा समेटिएकाे नवीन औद्योगिक माविले ६० हजार रुपैया नगद पुरस्कारमा चित्त बुझाउनु पर्याे । सेमिफाईनलमा पुगेकाे उजिरसिंह मावि र एभरेष्ट माविले जनही १८ हजार रुपैंया पुरस्कार पाएका छन् ।
फाईनल खेलमा पहिलाे हाफकाे ३६ मिनेटमा अक्सफाेर्डका अस्वित शर्माले गरेकाे एकमात्र गाेल निर्णायक भएकाे हाे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार अक्सफोर्ड माविका टीम क्याप्टेन सुजलमान घले, उत्कृष्ट गोलकिपर अक्सफोर्डकै डेभिड थापा, उत्कृष्ट मिडफिल्डर अक्सफोर्डकै रमित नाम्जाली मगर र सर्वाधिक गोलकर्ताको पुरस्कार अक्सफोर्डकै अस्मित शर्माले पाएका छन् ।
यस्तै उत्कृष्ट डिफेन्डरको पुरस्कार नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्डको पुरस्कार नवीनकै विजन सुर्यवंशीले पाए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्तालाई जनही ८ हजारका दरले पुरस्कार प्रदान गरिएकाे छ ।

बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयाे । पुरस्कार प्रदानपछि बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलमा खेलाडी उत्पादनका लागि पहिलोपटक आयोजना गरिएको विद्यालयस्तरीय फुटबल प्रतियोगिताले उत्साह बढाएको र आगामी दिनमा थप खेल प्रतियोगिता आयोजना गर्ने बताउनु भयाे ।