जनगायक जीवन शर्मा बेल्जियममा,बिभिन्न कार्यक्रममा सरिक हुदै

968

जनगायक जीवन शर्मा बेल्जियममा,बिभिन्न कार्यक्रममा सरिक हुदै

ब्रसेल्स/बेल्जियम

जनगायक जीवन शर्मा यतिबेला बेल्जियममा छन | यूरोप नेपाली एकता समाजको यूरोपियन सम्मेलनको अवसर पारेर उनलाई आयोजकले बेल्जियम निम्ता गरेका हुन् | आउदो ३१ जनवरी र १ फेब्रुअरीमा हुन् गैरहेको सम्मेलनमा शर्माको बेजोड प्रस्तुति रहने आयोजकले जनायका छन | त्यसका साथै शर्माको एकल साझ तथा बिभिन्न सांगतिक कार्यक्रम पनि तय भैसकेको छ | बेल्जियमको कार्यक्रम भन्दा अघि उनको पोर्चुगलका नेपालीहरुको लागि कार्यक्रम तय भैसकेको छ | बुधबार पोर्चुगलको राजधानी लिस्बन जाने कार्यक्रम रहेको आयोजकले जनायका छन|

सर्वहारा मुक्तिको गीत गाउँदागाउँदै आफैँ सर्वहारा कित्तामा पुगेका छन्, जीवन शर्मा । उनको नाममा विशाल आकाशमुनि एक इञ्च जमिन छैन, कतै एक हजार रुपियाँ जगेडा छैन । तीन दशक लामो सांस्कृतिक यात्राभर जेनतेन जीवन धान्दैछन् । तर, आफ़्नो समर्पणमा कुनै असन्तुष्टि छैन । उनि राजीखुसी निम्त्याइएका दुःखहरू सामना गर्नुमा रमाइलो छ, दुःखहरूविरुद्ध लड्नुमा झन् आनन्द छ ।
जीवन शर्मा जन्मजात सर्वहारा होइनन् । तर, सर्वहाराका गीत गाउँदागाउँदै सर्वहारा बन्न पुगेका छन् । स्वीकार्छन्, पहिले म सर्वहारा थिइनँ, अरूका लागि गाउँथे, अहिले म सर्वहारा भएँ, आफ़्नै लागि गाउँदैछु ।सर्वहारा वर्गका निम्ति गाएर त्यसै वर्गमा समाहित हुन पाउनुमा उनले गौरव नै गरेका छन् । सम्पत्तिका रूपमा अब उनीसित जनताको माया मात्र छ । पारिवारिक अंशका रूपमा पाएको चितवनको घडेरी जनताको गीतको सङ्ग्रहालय बनाउने क्रममा बेचे उनले । तर, मुलुकमा लागेको सङ्कटकालले नेपाल सांस्कृतिक प्रतिष्ठान नामक संस्थाका साथै जीवन शर्माको पुख्र्यौली झिटी पनि रहेन ।
त्यसो त कागजी प्रमाणपत्रहरू नभएर जीवन शर्मा सर्वहारा हुन पुगेका होइनन् । दर्शन र राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले अङ्ग्रेजी र मानवशास्त्रमा डबल एमए पनि पढेकै हुन् । तर, अङ्ग्रेजीलाई आफ़्नो कपको कफी बनाउन सकेनन् उनले । बडो भावुक मुद्रामा उनले कुनै बेला भनेका थिय ” म पूरै गीततिर लागेँ, अब मसित गीतबाहेक केही छैन ।” हो, अब जीवन शर्माले खाने, बस्ने, पढ्ने अनि हिँड्ने जनताकै गीत मात्र हुन् ।
जीवन शर्माले जानेर साइँली-माइलीका गीतु गाएनन् । उनको रोजाइमा रह्यो सार्थक गीत । भन्छन्, मुलुकको जिम्मेवार कलाकारले अर्थहीन गीत किन गाउने रु नाङ्गा र अङ्गप्रदर्शन गरिने खालका नाच चाहिने गीत म गाउँदिनँ । जीवन शर्मा फेरि पनि दुःखी जनता र अखण्ड नेपाललाई नै गीति मेनुमा राख्न चाहन्छन् । उनको जिद्दी छ, गीतले दिमाग छिटो बदल्न सक्छ ।
अविराम जनता-जिन्दावाद भन्दै आएका छन् जीवन शर्मा ।बिहानीले दिनभरिको सङकेत गरिदिन्छ रे ! जीवनवादी जीवन भन्छन्, एकाबिहानै कामुक गीत सुन्नेले दिनभर ठिटीतिर ध्यान दिन्छ, भजनकीर्तन सुन्नेले मन्दिर धाउँछ अनि जागृतिका गीत सुन्नेले देश र जनतालाई केन्द्रमा राख्छ । तर, उनी प्रेम होस् वा राजा विषयलाई गीतै होइन चाहिँ भन्दैनन् । यत्ति हो, जनतालाई सम्पूर्ण रूपमा राजनीतिक चेतनाले झरझिट्टै नपारेसम्म उनले उज्यालो भविष्यको गीत सुनाइरहने छन् ।
जीवन शर्माको छुट्टै जीवनदर्शन छैन । सर्वहारा वर्ग र उनको जीवनदर्शन एउटै हो । तीन छोरा र एक छोरीका पिता जीवनले जीवनमा दुईपटक विवाह गर्नुपर्यो । एउटा मागी विवाह, अर्को भागी विवाह । प्रथम पत्नीसित त उनले सम्बन्धविच्छेद नै गरसिकेका छन् । अहिले उनी काठमाडौँमा पत्नी नीलिमा,  छोरीसहित रुखासुखा दिनगन्ती गर्दैछन् उनी ।
करोडपति बन्ने, सुनका बिस्कुट ढुकुटीमा राख्ने, आलिसान महलमा बस्ने, बेन्ज कारमा हुइँकिने वा नाम र इज्जतसाथ बाँच्ने कुनै पनि महत्त्वाकाङक्षा छैनन् जीवनमा ।  भन्छन्, म जे छु, ठीकै छु ।
त्यसो त यी मुक्तिका गायक जिउने र मारिने विषयमा डराउने खालका छैनन् । रेडियो वा टेलिभिजनले गीत बजाओस्, नबजाओस्, सारङ्गीप्रेमी जीवनलाई फिकर छैन । जनमनमा, जनजिब्रोमा र जनताको घरघरमा सुरक्षित हुन पाए पुग्छ । सामान्य अवस्थामा सजिलो मञ्चमा जाने अनि असामान्य अवस्थामा प्यारो ठाउँ गरबिका रामझुपडी छँदैछन् ।
जीवन शर्माको खास नाम रामकृष्ण आचार्य रहेछ । त्यसो त चिनामा टीकानिधि उपाध्यायका रूपमा टिपोट गरिएको छ उनलाई । कतिपय मौसमी नामहरू त जीवनले बिर्सिसकेका छन् । तर, जीवन शर्मालाई घिसारेर नियमित हिँडेको ३०  हिउँद बितिसक्यो । जीवनको जन्मथलो बाग्लुङको राङखानी-पाही, धर्मराज थापाका शब्दमा गीतको खानी हो । मगर बस्तीमा हरेक साँझ मादल घन्कने नै भयो । मेलापात, झारापर्म जताततै नाचगान । त्यहाँ झ्यायाउरे, भजन गाउँदागाउँदै रामकृष्ण आचार्यको अन्तःप्रज्ञा खुल्यो । काठमाडौँ पसेपछि मात्र उनी जनताको गीत गाउने तहमा पुगेका हुन् । सङ्कल्प, वेदनालगायतका सांस्कृतिक समूहको उत्प्रेरणा त छँदैछ ।
कम्युनिस्ट-भाइरसु पसेपछि मायापिरतीका गीतहरू भूपू हुनु अस्वाभाविक होइन । रामकृष्णलाई थाहा भयो, देशदुनियाँ बदल्ने सजिलो बाटो गीतसङगीत हो । सम्झन्छन्, जनताका दुःख, वेदना, पीरमर्का, पञ्चायती व्यवस्थाका दमन, अत्याचार अनि जागृतिका गीत गाएर देशाटन गरेँ, भारतका हिमाञ्चलदेखि कन्याकुमारी, कोलाकातादेखि मुम्बई, चेन्नईदेखि दिल्लीसम्म डुलेँ ।
काठमाडौँको कलेज जीवनमा प्यूठानका मणि थापासित जीवन शर्माको जोडी खूबै जम्यो । गाउने जीवन र नाच्ने मणि । कलेजहरू डुल्दै आधा दर्जन वर्ष मणिसँग गरेको सहयात्रा उनले बिर्सन सकेका छैनन् । राजेश विकसँग गाउँतिर गितार बोकेर घरका आँटी, पिँढी अनि आँगनका धूलो उडाएको पनि ताजै छ ।
पहाडी सामन्ती पृष्ठभूमिका पितासित विद्रोह गरेर ननिस्केको भए जीवन शर्मा यतिखेर ढाक्रे जीवनशैलीमा रहने थिएनन् । तर, गीताङे बन्ने धुनमा इन्जिनियरिंग क्याम्पस पुल्चोकमा ओभरसियरको पढाइ अपूरै छाड्नुमा कुनै खेद छैन । कुनैबेला मुस्ताङ र सोलुखुम्बुमा मास्टरी गरेको झझल्को पनि मेटिएको छैन । बनारसमा कामचलाउ गितार सिकेका जीवनको बाटो तिनै तारहरूमा अल्झिरह्यो ।
जीवन शर्मा गाउँदैनन् मात्र, गीत पनि आफैँ लेख्छन् । कहिलेकाहीँ कविहरूका रचनालाई पनि गीति सरगममा ढाल्छन् । आफ़्ना गीतलाई सर्वहारा वर्गको मान्छन् जीवन । भन्छन्, मेरा गीत कुनै पार्टीको भजन होइन । गरिबीका व्यथा अनि मुक्तिका आवाज कुनै पार्टीविशेषको हुन सक्दैन ।झरनाको मीठो पानी…. सिमली छायाँमा बसी….लगायत लोकप्रिय गीतका स्रष्टा जीवनका ३३ थान एल्बम जनताका नाममा आइसकेका छन् । फोकल्यान्डको टापुबाट….चाहिँ मणि थापाले लेखेका रहेछन् । पक्कै पनि जीवन शर्माको स्वरसङगीनीका रूपमा नीलिमा पुन र लक्ष्मी गुरुङजति अरू सुहाएनन् । स्वर संसारकै गरमिका निम्ति नीलिमासित उनले प्रेमविवाह गरेका हुन् ।
जीवन शर्माको पार्टीगत सम्बन्ध मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसित छ । त्यसो त उनी एकताका एमालेको साङ्गीतिक मञ्चमा पनि गाउँदै नहिँडेका होइनन् । उनका अनुसार एमाले कम्युनिस्ट पार्टीचाहिँ होइन, देशभक्त र जनतान्त्रिक चरत्रिको पार्टी हो भन्ने लागेको थियो । तर, महाकाली सन्धिमा बदमासी गरेपछि उनि त्यहाँ रहिरहन सकेनन ।
रक्तिम सांस्कृतिक परिवाका संस्थापक हुन् जीवन । । घन्टाघरको फेदीमा बसेर नौ जनाले खोलेको रक्तिममा अझै पनि सयौँ कलाकार सङ्गठित रहेछन् । ज्यान जाला, जीवनले रक्तिम छाड्दैनन् । भन्छन्, अहिले राष्ट्रका निम्ति बोल्ने संस्थाहरू धमाधम समाप्त हुँदैछन् । सबै कम्युनिस्टहरू देशभक्त हुन्छन् भन्ने परिभाषा फेरिएका बेला सर्वहाराको मुक्तिका साथै राष्ट्र मुक्तिका निम्ति आन्दोलित हुनुपरेको छ ।त्यसैले घन्काउँदैछन्
छेकेर छेकिन्न इतिहासको पाङ्ग्रा
बढ्छ अघि चल्छ निरन्तर
रोकेर रोकिन्न, जनताको आँधी
चल्छ हुरी आउँछ वसन्त ।
कवि हृदयका मनुवा जीवन शर्मा कहिले छन्दमा हुन्छन्, कहिले छन्द न बन्दमा । उनको संसारभर साम्यवाद स्थापनाको स्वैर कल्पना हो वा क्रान्तिकारी रोमान्स उनमा बाँकी छ । नेताकै हिसाबमा दोहोर्याइरहन्छन्, मेरो इच्छाले मात्र संसार बदलिँदैन, मैले त परविर्तनको गतिलाई तीव्र पारििदने मात्र हो, मेरो जिन्दगीमा भएन भने कुनै दिन होला । तर, सागर भेट्न जाँदैछ नदी… कित्ताका गीतले श्रोताको मन नजितेको गुनासो छ उनमा । भन्छन्, मलाई मनपर्यो एकथरी, दुनियाँलाई मनपर्यो अर्काथरी ।
जीवन शर्मा आफैँमा एउटा तथाकथित आदर्श बोकेर हिँडेका छन् । उनका आदर्श नेता रहेछन्, कमरेड मोहनविक्रम सिंह । उनलाई माने हो भने मोहनविक्रम मुलुककै एक मात्र सत्याग्रही नेता हुन्| लोभलालच, इज्जतबेइज्जत नहेरी साँचो कुरा बोल्ने, सर्वहाराजस्तै बनेर हिँडेका मोहनविक्रम स्तरको नेता उनले भेटेका छैनन । मोहनविक्रम कुनामा घचेटिएलान्, छेउमा फालिएलान् वा पुरिएर मर्न पनि सक्लान् तर उनले यथार्थ बोल्न छाड्दैनन् ।
मूलधारको गीतमा विद्रोही गायक जीवन शर्माको आकर्षण छैन । जनताको गीत गाउँदै बझाङ, हुम्ला, ताप्लेजुङबाहेक सबै जिल्ला परिक्रमा गरेका जीवन शर्मा आफूलाई सोचेभन्दा हजारौँ गुणा बढी सफल ठान्छन् ।

आजीवन कम्युनिस्ट भएकोमा जीवन शर्मालाई कुनै दुःखमनाउ छैन । जति व्यथित छन्, नक्कली कम्युनिस्टबाट । कम्युनिस्टको साइनबोर्डमा मनपरी गर्दै आएका नेतालाई धिक्कार्छन् पनि । तर, जनताका गीत गाउने सबै उनका श्रद्धाका पात्र छन् । कम्युनिस्ट नै किन नहुन्, असलमा जीवन शर्मा कलाकार हुन् । उनी आफूलाई देशभक्त नेपालीको दर्जामा राख्न चाहन्छन् । अब एउटा काँधमा गणतन्त्र र अर्को काँधमा राष्ट्रलाई राखेर हिँड्ने दिन आएका छन्, उनी भन्दै आयका छन ” गणतन्त्र ल्याउने नेपालमा हो, नेपाल नै नरहे गणतन्त्र के काम ?”