प्रविण गाहा /
रुपन्देही जिल्लामा दुई चरणमा दादुरा रुबेला खोप अभियान संचालन हुने भएको छ । यही फागुनको १३ देखि १७ गते सम्म नौं वटा पालिका र २० देखि २४ सम्म ७ वटा पालिकामा खोप अभियान संचालन हुन लागेको हो ।
पहिलो चरणमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधनमा खोप अभियान हुनेछ । त्यसैगरी दोस्रो चरणमा गैडहवा, कन्चन, सैनामैना, सम्मरीमाई, मर्चावारी, कोटहिमाई र मायादेवीमा खोप अभियान हुन लागेको हो ।
दुई चरणमा ११ सय खोप केन्द्र मार्फत तीन लाख १४ हजार सात सय ३८ बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी गराउनुभयो । नौं महिना देखि १५ बर्ष सम्मका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएपनि कक्षा १० सम्मका सबै विद्यार्थीलाई खोप दिन लागिएको हो । नियमित खोप अभियानमा लिएका र यसअघि लगाएकालाई समेत अनिवार्य रुपमा यस अभियानमा सहभागी हुन खोप अधिकृत शर्माको आग्रह छ । दुई सय ५० भन्दा बढी विद्यार्थी भएको विद्यालय, बाह्य खोप केन्द्र र स्वास्थ्य संस्थामा यो अभियान संचालन हुनेछ ।
भारत संग सिमा जोडिएका, उच्च जनघनत्व भएका तराईका १७ जिल्ला र उपत्यकाका तीन गरी २१ जिल्लामा नौं महिना देखि १५ वर्ष र पहाडका ५१ जिल्लामा नौं महिना देखि पांच वर्ष सम्मका बालबालिका अभियानमा सहभागी हुनेछन् ।
नियमित खोप अभियानमा नौं महिना र १५ महिना गरी दुई पटक यो खोप दिने गरिएको छ । गत वर्ष १७ जिल्लामा दादुरा रुबेला देखिएकोमा लुम्बिनी प्रदेशका बांके, बर्दिया, दाङ, कपिलवस्तु र अर्घाखाचीमा देखिएको थियो । तराईको सिमा जोडिएको जिल्ला भए पनि रुपन्देहीमा दादुरा रुबेलाबाट संक्रमित नहुनु सुखद भएको खोप अधिकृत शर्माको भनाई छ । एक जना संक्रमितले १८ जना सम्मलाई संक्रमण सार्न सक्ने भएकोले खोप अभियानमा सहभागी हुन आग्रह गरिएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा ७१, २०७७/०७८ मा ८१, २०७८/०७९ मा ९३ र २०७९/०८० मा ९५ प्रतिशतले यसको दादुरा रुबेलाको खोप लिएको तथ्यांक छ । सरकारले सन् २०२६ सम्म दादुरा, रुवेवा निवारण गर्ने लक्ष्य लिएको छ । रुपन्देही २०७२ सालमा पुर्ण खोप भएको जिल्ला घोषणा भएको हो । पांच बर्ष मुुनिका बालबालिकामा यस्को संक्रमण दर उच्च रहने गरे पनि १५ वर्ष मुनिका बालबालिका प्रभावित हुने गरेका छन् । हाल सम्म ७२ जिल्लाका सात सय ३३ पालिका पुर्ण खोप पालिका घोषणा भएका छन् । विकसित देशमा २५ रोग विरुद्धको खोप दिने गरेपनि नेपालमा नियमित खोप अभियान मार्फत १३ रोग विरुद्धको खोप दिने गरिएको छ ।