नेपालका लागि भारतीय राजदुत नवीनकुमार श्रीवास्तवले नेपालको विकासमा सहकार्य निरन्तर रहिरहने बताउनु भएको छ । उहाँले सरकार परिवर्तन भईरहे पनि नेपाल र भारत विचको सम्बन्ध स्थायी रहेको बताउनु भयो । यो सम्बन्ध र आदानप्रदान युगौसम्म रहिरहने पनि विश्वास व्यक्त गर्नुभयो ।
रूपन्देहीको तिलोत्तमा राममणी क्याम्पसमा भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको नवनिर्मित भवनको उद्घाटन गर्दै राजदुत श्रीवास्तवले नेपाल भारतका लागि छिमेकी राष्ट्र मात्र नभएर असल मित्र पनि रहेको स्मरण गर्नुभयो ।
राजदुत श्रीवास्तवले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत समग्र क्षेत्रका विकासमा सहकार्य गर्दै आएको बताउँदै भोलीका दिनमा पनि यो सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भारत र नेपालको सम्बन्ध दुई देशका सरकारकाबीचमा मात्र नभएर धार्मिक एवं सामाजिक रुपमा पनि बलियो रहेको बताउँदै शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकहरुलाई आकर्षित गर्न सके लुम्बिनीको मात्र नभई सिंगो नेपालकै आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदुत श्रीवास्तवले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजदुत बनाउन भारत सरकारले समुदाय विकास कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको बताउनु भयो ।
२०६८ साल माघ ७ गते निर्माण शुरु गरिएको यो भवन २ करोड ४७ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । त्यस अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नेपालको शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा भारत सरकारको सहयोग प्राप्त भएको बताउँदै तिलोत्तमा नगरपालिकाको शिक्षा, स्वास्थ्य लगायतका समग्र विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षामा गरेको लगानी सुनौलो विहानी भएको पनि भनाई राख्नुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकुमार धितालले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको अध्ययन सकिदा एक हातमा प्रमाणपत्र र अर्को हातमा सीप होस भन्ने आफूहरुको चाहना रहेको बताउँदै त्यस्तो खालको प्राविधिक शिक्षाको लागि पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा क्याम्पसरमा विशेष योगदान गरेका डा. खगराज शर्मा, मोहन शर्मा, उमाकान्त चापागाई, रोमणीप्रसाद पाठक, छत्रबहादुर दर्लामी, गोपाल भट्टराई, मुरारीलाल अग्रवाल र तिलप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । त्यसै अवसरमा क्याम्पसले प्रकाशन गरेको १९ औं संस्करणको स्मारिका दीपिका विमोचन गरिएको थियो ।