बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु

1.3K

बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु

बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गर्नुभयाे ।
उहाँले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताउनु भयाे । उहाँले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गर्नुभयाे । उहाँले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिनुभयाे । उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गर्नुभयाे ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइने छ । जसका लागि बुटवलका १९ वटा वडाका १ सय ६७ वटा खोप केन्द्र तोकिएका छन् भने ५० जना स्वास्थ्यकर्मी परिचालन भएका छन्।