लुम्बिनी प्रादेशिक अस्पतालमा डुओडेनोस्कोपी सेवा सुरु

19

लुम्बिनी प्रादेशिक अस्पतालमा डुओडेनोस्कोपी सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो ।
यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र रोग तथा संक्रमणलाई डुरबिनको माध्यमबाट उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिनुभयाे । यो प्रविधि अनुसार आइतबार रुपन्देहीका ५५ र ७४ वर्षीया दुई जना महिलाको स्वास्थ्य परीक्षण गरी सेवा शुभारम्भ गरिएको मेसु डा. थापाले जानकारी गराउनु भयाे ।
अस्पालका डा. मोहन भुसालको नेतृत्वमा रहेको टोलीले मेसु डा. थापासहित डा. रामप्रसाद अर्याल, स्टाफनर्स माया ढकाल लगायतको सहयोगमा डुओडेनोस्कोपी गरेको हो । यो प्रविधिमा बिरामीको मुखबाट पातलो ट्यूब (एन्डोस्कोप) वा नाकको माध्यमबाट अन्ननली हुँदै पेटको स्तरसम्म घुसाएर क्यामेरामा हेर्ने गरिन्छ । पीत्त नली, सानो आन्द्रा लगायतमा हुने संक्रमण पहिचान गर्न यसले सहज हुने डा. भुसाल बताउनुहुन्छ । यो प्रविधि यस क्षेत्रमै पहिलो भएको बताउँदै उहाँले प्रादेशिक अस्पतालमा उपचार सेवा थप प्रभावकारी हुने दाबी गर्नुभयाे । यो प्रविधिसँगै केही समयमा इआरसीपी सेवा समेत सञ्चालन गर्ने तयारी रहेको मेडिकल सुपेरिटेन्डेन डा. थापाले जानकारी दिनुभयाे ।