लुम्बिनी प्रादेशिक अस्पताल ११४ औं वर्षमा : विशिष्टिकृत अस्पताल बनाउने मन्त्री खनालको प्रतिवद्धता

19

लुम्बिनी प्रादेशिक अस्पताल ११४ औं वर्षमा : विशिष्टिकृत अस्पताल बनाउने मन्त्री खनालको प्रतिवद्धता

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले पश्चिम क्षेत्रका जनताले विशिष्टिकृत स्वास्थ्योपचार प्राप्त गर्न सक्ने अस्पतालको रुपमा विकास गरिने बताउनु भएको हो ।
वि.सं. १९६७ सालमा स्थापना भएको लुम्बिनी प्रादेशिक अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले अस्पतालमा बन्न लागेको १० तले नयाँ भवन निर्माण समयमै सक्नेगरी निर्माण कम्पनीले गरेको प्रतिवद्धता अनुसारको काम हुनेमा विश्वास व्यक्त गर्नुभयो । ‘हाम्रा आवश्यकता धेरै छन्, यसको गुणस्तर वृद्धि गरेर जान सकेनौं, जनशक्ति र उपकरण दिन सक्दैनौं भने जनताले चाहेको जस्तो उपचार सेवा उपलब्ध गराउन सक्दैनौं ।’ मन्त्री खनालले भन्नुभयो–‘आवश्यक स्रोत व्यवस्थापनका लागि सरकारले पहल गर्छ । अस्पताललाई साधन स्रोत र उपकरणको कमी हुन दिईने छैन ।’ त्यसै अवसरमा मन्त्री खनालले अस्पतालमा नयाँ सेवा क्याथ ल्यावको समेत उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ अस्पतालमा १०५ जना डाक्टरको दरवन्दी खाली रहेको जानकारी गराउँदै नागरिको स्वास्थ्य सेवालाई ध्यान दिएर तत्कालका लागि करारमै भएपनि पदपुर्तीको तयारी भईरहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा अस्पतालको बारेमा जानकारी गराउँदै अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको जानकारी गराउनु भयो । उहाँका अनुसार १५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायत अस्पतालमा सेवा विस्तार गरिएको छ । निकट भविष्यमै अनलाइन टिकटको समेत व्यवस्था गरिने उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सुदर्शन बराल, लुम्बिनी प्रदेश सरकारका मुख्यन्यायधिवक्ता बुद्धबहादुर थापा, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी लगायतले अस्पतालमा बन्ने १० तले नयाँ भवनको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.स. १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवलफुलवारी पार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैयाबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो । वि.स.१९९८ सालमा रक्तसंचार सेवा केन्द्र रहेको स्थान हुँदै बुटवलउप–महानगरपालिका वडा नं.६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई यस अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ मेसु थापाले जानकारी गराउनु भयो ।
अस्पतालले ११४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको थियो । अस्पताल परिवार बीच आयोजना गरिएका प्रतियोगिताहरु फुटबल, भबिल, क्रिकेट, म्याराथन, कविता बाचन तथा रक्तदान कार्यक्रममा सहभागीहरुलाई मूल समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।