देवदह मेडिकल कलेजद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर : ९७६ जनाको स्वास्थ्य परीक्षण

26

देवदह मेडिकल कलेजद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर : ९७६ जनाको स्वास्थ्य परीक्षण

रुपन्देहीको देवदह मेडिकल कलेजले बुटवलमा निःशुल्क बृहत स्वास्थ्य शिबिर गरेको छ । रुपन्देहीको देवदह नगरपालिका भलुहीमा रहेको देवदह मेडिकल कलेज एण्ड रिसर्च इष्टिच्यूटले शनिबार बुटवलको कान्ति माध्यमिक विद्यालयमा निःशुल्क बृहत स्वास्थ्य शिविर गरेको हो । शिबिरमा ९७६ जनाले सेवा लिएको देवदह मेडिक कलेज कार्यसम्पादन समितिका अध्यक्ष गोपाल पोखरेलले जानकारी गराउनु भयो ।
शिबिरको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले नागरिकको स्वास्थ्य सेवाको दायित्व ग्रहण गरेर नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा बिशेष लगानी गरेको जानकारी गराउनु भयो । उहाँले नगरपालिकाले नगरप्रमुख जेष्ठ नागरिक कार्यक्रम सञ्चालन गरी नागरिकको घरमै सेवा पुर्याइएको जानकारी गराउनु भयो । उहाँले नागरिकको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनको लागि पिपिपि मोडलमा जान सकिने बताउँदै त्यसको लागि भरपर्दो योजना बनाउन आवश्यक रहेको भनाई राख्नुभयो ।

उहाँले अस्पताललाई अझै विपन्न वर्गलाई लक्षित गरेर सुकुम्बासी क्षेत्रमा शिविर सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । त्यस अवसरमा अस्पतालका अध्यक्ष गोपाल पोखरेलले नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि पिपिपि मोडलमा जान सकिने र त्यसको लागि अस्पताल तयार रहेको भनाई राख्नुभयो । उहाँले बुटवल उपमहानगरपालिकाले अगाडि सारेका योजनामा सहकार्य गर्न पनि तयार रहेको बताउनु भयो ।
सबैप्रकारका विशेषज्ञ सेवा सहित गरिएको शिबिरमा सबैप्रकारको ल्याव परीक्षण र आवश्यक पर्ने औषधि समेत निःशुल्क वितरण गरिएको थियो । शिबिरबाट रिफर भएका बिरामीलाई थप स्वास्थ्य सेवाको लागि अस्पतालमा निःशुल्क टिकट, वेडमा र भिडियो एक्स–रेमा ५० प्रतिशत तथा अप्रेसन लगायतका अन्य कुरामा विशेष छुट प्रदान गरिने अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो ।
त्यस अवसरमा अर्बुद रोग निवारण संस्था रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले अर्बुद रोग निवारण संस्थाले देवदह मेडिकल कजेलको सहकार्यमा जिल्लाका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका क्षेत्रमा स्वास्थ्य शिबिर सञ्चालन गरिने जानकारी गराउनु भयो ।