जी २५ क्लवद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिबिर : दुई सय जनाको स्वास्थ्य परीक्षण

41

जी २५ क्लवद्वारा सियारीमा निःशुल्क स्वास्थ्य शिबिर : दुई सय जनाको स्वास्थ्य परीक्षण

जी २५ क्लवले रुपन्देहीको सियारी गाउँपालिकामा निःशुल्क महिला तथा दन्तरोग स्वास्थ्य शिबिर गरेको छ । क्लवले गाउँपालिकाको वडा नं. ७ कनेरी समरीमाई माध्यमिक विद्यालयमा गरेको शिविरमा २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको क्लवका अध्यक्ष जगदिश न्यौपानेले जानकारी गराउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ मा गठन गरिएको क्लवले क्लवका सदस्यहरु बिच भातृत्व विकाससँगै विभिन्न प्रकारका सामाजिक काम गर्दै आएको छ । स्वास्थ्य शिविरमा बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरेकामा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नागरिकको स्वास्थ्य सेवालाई सुलभ बनाउनको लागि स्थानीय सरकारले मात्रै नभएर संघ र प्रदेश सरकारले समेत सहयोग गर्नुपर्ने भनाई राख्नुभयो ।

क्लवका अध्यक्ष न्यौपानेले ग्रामिण समुदायलाई लक्षित गरेर महिला र दन्त स्वास्थ्य शिबिर गरिएको बताउँदै शिविरबाट ग्रामिण क्षेत्रका नागरिकले लाभ लिएको बताउनु भयो । उहाँले क्लवले गरेका कामका बारेमा जानकारी गराउँदै आगामी दिनमा थप सामाजिक सेवाका काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । त्यस अवसरमा गाउँपालिकाकी उपाध्यक्ष तारा थारु, क्लवका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक रमेश जोशी, उपाध्यक्ष मदन पौडेल, सचिव किशोर पंगेनी लगायतले भनाई राख्नुभएको थियो ।
शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निसा पौडेल, दन्तरोग विशेषज्ञ डा. नारायण पोखरेल, स्वास्थ्यकर्मी दुर्गा पाण्डेको टोलीले शिविरमा आएकाहरुको स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै बिरामीलाई आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको थियो । स्वास्थ्य शिबिरमा क्लवका निवर्तमान अध्यक्ष निर्मल नेपाल, पूर्वअध्यक्षहरु बिमल घिमिरे, प्रेमप्रसाद पाण्डे, देवलाल अर्गाली तथा सदस्यहरुको सहभागिता रहेको थियो ।