बुटवलको जी २५ क्लवले गरिव तथा अतिविपन्न परिवारका बालबालिकालाई नगदसहित खाद्यान्न प्रदान गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रमा बसेर अध्ययन गर्ने गरिव तथा विपन्न बालबालिकालाई नगद सहित खाद्यान्न प्रदान गरिएको क्लवका अध्यक्ष जगदिश न्यौपानेले जानकारी गराउनु भयो ।
क्लवले बिहिबार विद्यालयमा पुगेर खाद्यान्न सहित नगद प्रदान गरेको हो । त्यस अवसरमा गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व सरकारको भएपनि सरकारले पनि गर्न नसकिरहेको अवस्थामा एउटा क्लवले दायित्व बोध गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।
जन्मपछि गास, बास, कपास मानवको नैसर्गिक अधिकार भएकोले क्लवले सामाजिक उत्तरदायित्व बहन गरी गरिवीको चपेटामा रहेका परिवारका नानीबाबुलाई अत्यावश्यक कुराहरुमा क्लवले सक्दो सहयोग गरिएको क्लवका अध्यक्ष न्यौपानेले बताउनु भयो । उहाँले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको लागि अंग्रेजी माध्यममा समेत पठनपाठनको व्यवस्था मिलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवाली, क्लवका संरक्षक प्रेमप्रसाद पाण्डे, उपाध्यक्ष मदन पौडेल, महासचिव किशोर पंगेनी, कार्यक्रम संयोजक देवेन्द्र जिसी लगायतले भनाई राख्नुभएको थियो ।
