सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औं वर्षमा : विविध कार्यक्रम गरी मनाईँदै

1.3K

सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औं वर्षमा : विविध कार्यक्रम गरी मनाईँदै

बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस स्थापना भएको ३२ औं वर्षमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ५ मा ४८ सालमा स्थापना गरिएको क्याम्पसमा भोली मंगलबार स्थापना दिवस मुल समारोह आयोजना गरिएको छ ।
वार्षिकोत्सवकै अवसरमा क्याम्पसमा साताव्यापी कार्यक्रम गरिएको छ । क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मुल समारोहमा नव निर्मित पुस्तकालय भवनको उद्घाटन, क्याम्पसका पूर्व अध्यक्ष स्व.सूर्यप्रसाद प्रधानको स्मृति सभाहलको नामाकरण, छात्रबृत्ति अक्षयकोष स्थापना, सेमिनार हल शुभारम्भ तथा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार वितरण तथा शिक्षक कर्मचारीलाई सम्मान गरिने शुक्रबार क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले जानकारी गराउनु भयो ।
वार्षिकोत्सवको मुल समारोह बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा हुने पनि उहाँले बताउनु भयो । क्याम्पसलाई अहिले भएको ५ कठ्ठा जग्गा अभाव भएको बताउँदै बुटवल १२ मा जग्गा ब्वस्थापन गरी नयाँ कार्यक्रम लागु गर्नको लागि पहल भइरहेको पनि अध्यक्ष लाकौलले बताउनु भयो । उहाँका अनुसार क्याम्पसमा स्थापना गरिने छात्रबृत्ति अक्षयकोषबाट गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले क्याम्पसलाई उत्कृष्ट सामुदायिक क्याम्पस बनाउनको लागि सिंगो टिमले काम गरिरहेको बताउँदै पछिल्लो समय युवाहरु विदेशीने क्रमले क्याम्पसमा पनि विद्यार्थी संख्यामा गिरावट आएको बताउनु भयो । उहाँले सरकारले विद्यार्थीलाई शिक्षासंगै सीप दिनुपर्ने र स्वदेशमै रोजगारीको सुनिश्चितता गर्न सक्ने हो भने नेपालको शिक्षामा सुधार आउने र उत्पादित जनशक्तिलाई देश विकासमा लगाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
क्याम्पसले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ३१ गते वक्तृत्वकला र बास्केटबल प्रतियोगिता, चैत्र १ गते हाजिरी जवाफ, चैत्र १ र २ गते छात्र क्रिकेट र छात्रछात्रा भलिवब प्रतियोगिता, चैत्र २ गते कुर्सी दौड, चैत्र ४ गते स्पिलिङ्ग कन्टेस्ट र चैत्र ५ गते रक्तदान कार्यक्रम गरेको सहायक क्याम्पस प्रमुख कृष्ण खनालले जानकारी गराउनु भयो । शुक्रबार गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्राध्यापक ताराप्रसाद ज्ञवालीले जानकारी गराउनु भयो ।
क्याम्पसमा कक्षा ११ र १२ मा म्यानेजमेन्ट, एजुकेशन र ह्युमानिटिज संकाय, बिबिएस बिएड, तथा एमबिएस, एमएड समेतमा गरी हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत छन् । त्यस्तै ४४ जना प्राध्यापक र १४ जना कर्मचारी कार्यरत छन् ।