आम्दामा आमा सुरक्षा कार्यक्रम लागु हुने

1.3K

आम्दामा आमा सुरक्षा कार्यक्रम लागु हुने

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा आमा सुरक्षा कार्यक्रम लागु हुने भएको छ । अस्पतालमा यहि साउन देखि आमा सुरक्षा कार्यक्रम लागु गर्न लागिएको हो ।
अस्पतालमा मंगलबार आयोजना गरिएको नयाँवर्षको शुभकामना आदानप्रदान कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद पराजुलीले अस्पतालमा यहि साउनदेखि आमा सुरक्षा कार्यक्रम लागु गर्नेगरी तयारी गरिएको जानकारी गराउनु भएको हो ।
त्यस्तैगरी सामान्य चिकित्सा, अर्थोपेडिक र नाक कान घाँटी सेवालाई विभागको रुपमा विकास गर्ने अस्पतालको योजना छ । एनआईसीयु, पिआईसीयु सेवा विस्तार गर्ने, हाई केयर युनिट, एमआईसीयु, इन्फर्टीलिटी सेवा स्थापना गर्ने तथा पाठेघरको क्यान्सर उपचार सेवा विस्तार गर्ने योजना रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. पराजुलीले जानकारी गराउनु भयो ।
एक सय शैयामा सञ्चालनमा रहेको अस्पताललाई ३ सय शैयामा स्तरबृद्धि गर्नको लागि बुटवल उपमहानगरपालिकाको सहयोगमा डिपिआरको काम अगाडि बढाईएको र आम्दा इन्टरनेशनलसंग भएको सम्झौता अनुसार डिपिआर सकिएको मितिले २ वर्ष भित्रमा स्तरबृद्धिको काम सक्नेगरी काम अगाडि बढाईने उहाँले बताउनु भयो ।
उहाँका अनुसार हाल अस्पतालमा बहिरंग सेवा, अन्तरंग सेवा, इन्भेस्टिगेसन, २४ सै घण्टा आकस्मिक बिशेषज्ञ सेवा, खोप, परिवार नियोजन, स्वास्थ्य सचेतना लगायतका सेवा सञ्चालनमा छन् । त्यस्तै आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पिसिएल नसिंङ, हेल्थ असिष्टिेन्ट र डिप्लोमा इन फार्मेसी शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ ।
बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ र आम्दा नेपालको सहकार्यमा बालबालिका र महिला विशेषज्ञ अस्पतालको रुपमा २०५५ सालमा यो अस्पताल स्थापना गरिएको थियो ।
कार्यक्रममा बोल्दै अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अस्पतालको स्तरउन्नतिका लागी उपमहानगरपालिकाले सक्दो प्रयास गरिरहेको बताउनु भयो । अस्पतालले प्रदान गर्ने सेवासुविधा बिस्तार गर्दै लैजालागि पिपिइ मोडेलमा अगाडी बढाईने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यका बिषयलाई उपमहानगरपालिकाले प्राथमिकता राखेको बताउँदै हालै नियुक्त हुनुभएका मेसु पराजुलीको कार्यकालमा अस्पतालमा मुख्यरुपमा आमासुरक्षा कार्यक्रम लागु हुने र अस्पतालको स्तरबृद्धि हुने कुरामा आशा र विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी अस्पताल स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले आम्दा अस्पतालले दिईरहेको सेवालाई अझै प्रभावकारी कसरी बनाउन सकिन्छ, उपचारको लागि अस्पतालमा आएका विरामीको सबै प्रकारको उपचार हुनेगरी विकास गर्नुपर्ने र एउटा साझेदार संस्थाको तर्फबाट के गर्न सकिन्छ त्यसको लागि तयार रहेको भनाई राख्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, अस्पतालकी प्रेस सल्लाहकार कल्पना तिवारीले अस्पतालले प्रदान गर्ने सेवालाई नागरिक मैत्री बनाउन सञ्चार माध्यमको तर्फबाट पूर्ण सहयोग रहने भनाई राख्नुभयो ।