वेलहिया–कोरलाको समेत दुरी घटाउने गरी बुटवल–जोर्ते नयाँ बाटोको अवधारणा

50

वेलहिया–कोरलाको समेत दुरी घटाउने गरी बुटवल–जोर्ते नयाँ बाटोको अवधारणा

नेपाल–भारत सिमा वेलहिया र नेपाल–चिन सिमा कोरला विचको समेत दुरी छोट्याउने गरी वैकल्पिक मोटरबाटोको अवधारणा अगाडि सारिएको छ । नेपाल–चिन सिमा उत्तरको कोरला र नेपाल–भारत सिमा दक्षिणको वेलहिया बिचको समेत दुरी छोट्याउनेगरी बुटवलदेखि पाल्पाको जोर्तेसम्म छोटो वैकल्पिक मोटरबाटोको अवधारणा अगाडि सारिएको हो ।
‘यो हाम्रा पुर्खाले प्रयोग गरेको ऐतिहारिक बाटो पनि हो ।’ वैकल्पिक बाटोको परिकल्पनाकार, बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्गका संयोजक नवराज श्रेष्ठले भन्नुभयो–‘हाम्रो अवधारणा अनुसारको बाटो बनाउने हो भने बुटवल जोर्ते ७४ किलोमिटर साविकको बाटो भन्दा ३६/३७ किलोमिटर कमि हुन आउँछ ।’ बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका श्रेष्ठका अनुसार बाटोलाई छोटो र सजिलो बनाउने हो भने व्यापारको अनुपात पनि बढाउन सकिने भएकाले यो बाटोलाई व्यापारिक मार्गका रुपमा अगाडि बढाईएको हो ।
बुटवल, दोभान, बर्तुङ, तानसेन हुँदै भैरवस्थानको दुरी अहिले झण्डै ५० किलोमिटर छ । वैकल्पिक बुटवलदेखि दोभान, मरेक, मस्याम, भैसीकट्टा (घोर्लीघाट) हुँदै भैरवस्थानको दुरी ३० किलोमिटर भित्रै कायम हुने उहाँको भनाई छ । त्यस्तै भैरवस्थानदेखि जोर्ते ६ किलोमिटरमा पुग्न सकिन्छ । यस अनुसार बुटवलदेखि जोर्तेसम्मको दुरी साविक भन्दा वैकल्पिकमा आधा घाटाउन सकिने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । त्यस्तै बुटवलदेखि रिढी २ घण्टामा पुग्न सकिन्छ ।
प्रस्तावित उक्त सडकको अवधारणाका विषयमा बुटवलमा गोष्ठि आयोजना गरिएको थियो । उक्त गोष्ठिमा अवधारणा पत्र प्रस्तुत गर्दै संयोजक श्रेष्ठले प्रस्तावित बाटो निर्माण भएमा बुटवलदेखि ऐतिहासिक भैरवस्थान मन्दिरसम्म पौनेघण्टा भित्रै पुग्न सकिने बताउनु हुन्छ । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लाहरुलाई मधेशसंग जोडने ट्रान्जिट पोईन्टको रुपमा रहेको पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिढीबाट मुख्यरुपमा कालिगण्डकी कोरिडोर र रिडी–बुर्तिबाङ सडक सञ्जालले जोडिने कोरला नाकासम्मका स्थान र बुर्तीबाङदेखि पश्चिममा पर्ने पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट तथा त्यस बाटोबाट सहायक मार्गले जोडिने रोल्पा, सल्यान, तथा डोल्पा जिल्लामा आवतजावतको सहजताले यी क्षेत्रका व्यवसायीहरुले समेत लाभ लिन उहाँले बताउनु भयो ।

प्रस्तावित बुटवल भैरवस्थान सडकको म्याप

गोष्ठिमा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले यो अभियान आवश्यकतामा आधारित अभियान भएकाले आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले ग्रामिण उत्पादनलाई बजारीकरणमा सहज हुने र त्यसले जनतको जीनस्तरमा सुधार ल्याउन सकिने भएकाले यो अभियानलाई पूर्ण गर्नको लागि सरकारको समेत ध्यानाकर्षण गराउनु भयो । यो सडक सभामुख घर्ती निर्वाचित भएको प्रदेश सभा निर्वाचन क्षेत्रमा समेत पर्दछ ।
गोष्ठिमा नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणी पौडेलले प्रस्तावित उक्त सडकको उपयोगिताको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने भिमार्जुन पाण्डेले प्राविधिक पक्षका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, जमुना ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल लगायतले धारणा राख्नुभएको थियो ।