पूर्वमन्त्री तथा शिक्षाविद् डा. मिनेन्द्र रिजालले मुलुकको विकास र समृद्धिको लागि कुरा भन्दा पनि काम गर्नुपर्ने बताउनु भएको छ । उहाँले निवन्ध लेखेर योजना नबन्ने भएकाले गहिरो अध्ययन गरेर बस्तुपरक योजना निर्माणमा जोड दिनुभयो । उहाँले विश्वका ठूला ठूला परियोजना पनि बस्तुपरक रुपमा निर्माण भएका योजना भएकाले सफल र उदाहरणीय भएको बताउँदै अधुरा योजनाले गति लिन नसकेको उदाहरणहरु प्रस्तुत गर्नुभयो ।
काठमाण्डौको एपेक्स कलेजका अध्यक्ष समेत रहनु भएका पूर्वमन्त्री रिजालले चुट्कीको भरमा कोही पनि सफल हुन नसक्ने भन्दै निरन्तरको प्रयासले गन्तव्यमा पुग्न सकिने बताउनु भयो । ‘पटक पटकको असफलता नै लक्ष्यमा पुग्ने प्रयास हो ।’ उहाँले भन्नुभयो–‘थुप्रै असफलताले नै मानिसलाई आफ्नो लक्ष्यमा पुर्याउँछ, झ्याप्प देखिने सफल व्यक्तिहरु पनि धेरै हण्डर र ठक्कर खाएर सफल भएका हुन् ।’
सिद्धार्थ इन्टरनेशनल कलेज बुटवलले ‘रि–भाईव्रेटिङ बुटवल’ नारा सहित आयोजना गरेको दुई दिने चौथो एस.आई.सी. फेष्ट २०२४ मा बोल्दै उहाँले बुटवल देशकै सेन्टरमा रहेकाले त्यसबाट धेरै लाभ उठाउन सक्ने भनाई राख्नुभयो । लुम्बिनीमा धेरै वुद्धिष्टहरुलाई ल्याउन सकिने बताउँदै त्यसबाट पनि लाभ लिन सकिन्छ । त्यस्तै उत्तरको नेपाल चीनको कोरला र दक्षिणको नेपाल भारत वेलहीया नाकालाई समेत सिधा जोड्न सकिने भएकाले त्यसबाट पनि लाभ लिन सकिन्छ । त्यस्तैगरी रुपन्देही आफैमा औद्योगिक विकास भएको र औद्योगिक विकासका माध्यमबाट पनि धेरै लाभ लिन सक्ने जिल्ला रहेकाले उद्योग, पर्यटन र शिक्षालाई एक आपसमा परिपुरकको रुपमा विकास गर्नुपर्ने भनाई राख्नुभयो । शिक्षालाई सीप र सीपलाई उद्योगसंग जोड्न सकिन्छ । यस्ता कुरामा ध्यान दिन सक्ने हो भने रुपन्देहीको राम्रो सम्भावना रहेको बताउँदै सम्भावनालाई अवसरको रुपमा बदल्न विदशी भूमिमा नभई नेपालमै काम गर्नुपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा सम्वन्धित विषयमा प्यानल डिस्कसन गरिएको थियो । प्यानल डिस्कसनमा उद्योगी व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, तिलोत्तमा क्याम्पसका प्राचार्य डा. आरसि आचार्य, नेपाल राष्ट्र बैंकका विज्ञान सुवेदी, नेपाल बैंक लि.का सुशिलकुमार नेपाल, सिद्धार्थ केवल कारकी श्रृष्टि गुरुङ, गौतम बुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलम सहभागि हुनु भएको थियो ।
प्यानल डिस्कसनमा उहाँहरुले पनि रुपन्देही शिक्षा, स्वास्थ्य, उद्योग तथा पर्यटनको क्षेत्रमा राम्रो सम्भावना रहेको तर त्यसका लागि सरकारले मैत्री वातावरण बनाईदिनुपर्ने भनाई राख्नुभएको थियो । उहाँहरुले प्रणालीमा धेरै सुधार गर्नुपर्ने र त्यसमा सरकार तयार नहुँदा उच्च शिक्षा अध्ययनका लागि गएका विद्यार्थी उतै पलायन भईरहेको धारणा राख्नुभएको थियो । युवा जनशक्तिलाई नेपालमै राख्ने सरकारको चाहना छ भने सबैभन्दा पहिला वातावरण सुधार गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई पुनःचलायमान बनाउनको लागि आधारहरु तयार हुँदै गएको बताउनु भयो । लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगञ्जका भिसी प्रा.डा. विनोद ढकालले रुपन्देही विशेष गरेर उद्योग, पर्यटन र शिक्षामा राम्रो सम्भावना रहेको बताउँदै यसलाई अझै प्रभावकारी बनाउन शिक्षालाई सीपसंग जोड्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, नाभी ग्रुपका आलोक खत्री, डेडिज किचन बुटवलका सञ्चालक कमलजंग कुवँरले सफलताका कथा सुनाउनु भएको थियो ।
कलेज सञ्चालक समितिका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी जोशी, क्याम्पस प्रमुख रामप्रसाद खरेल भनाई राख्नुभएको थियो । चार वर्षे विविए र विविए विआई अध्ययन हुने उक्त कलेजमा सन् २०१८ देखि एस.आई.सी. फेष्ट (सिद्धार्थ इन्टरनेशलन कलेज फेष्टिवल) गर्दै आईको छ । यो चौथो हो । यस अगाडि कोभिडका कारण विचमा रोकिएको थियो ।