सरकार विरुद्ध प्रेस युनियनले आन्दोलन गर्ने

628

सरकार विरुद्ध प्रेस युनियनले आन्दोलन गर्ने

Krishna-Pradad.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गठन गर्ने पुर्ववर्ति सरकारको निर्णयलाई अहिलेको सरकारले परिवर्तन गरेको विरुद्धमा नेपाल प्रेस युनियनले देशव्यापी आन्दोलन गर्ने भएको छ  ।आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न भोली विहिवार युनियनको आकस्मीक बैठक बोलाइएको युनियनका महासचिव अजयवावु शिवाकोटीले जानकारी दिए । उनले पुर्ववर्ति सरकारको निर्णय परिवर्तन नगर्न सरकारलाई दवाव दिदै सूचना तथा सञ्चार मन्त्री शेरधन राईलाई बहिस्कार गर्ने, पुत्ला दहन गर्ने, संचार मन्त्रालयमा धर्ना दिने, पत्रकार महासंघको कार्यालयमा कालो झण्डा गाड्ने, महासंघमा निर्वाचित युनियन तर्फका पदाधिकारी तथा सदस्यहरुलाई राजीनामा दिन लगाउने, महासंघलाई पनि बहिस्कार गर्ने लगायतका कार्यक्रमहरु घोषणा हुने बताए ।
वर्तमान केपी ओली नेतृत्वको सरकारले आम संचारकर्मीको स्तरवृद्धिका लागि खुलेको आमसञ्चार प्रतिष्ठानबाट पत्रकार महासंघका पहिलो सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुन जी)को नाम हटाएकामा देशभरीबाट पत्रकारहरुले चर्को विरोध जनाउन थालेका छन् । बर्तमान सरकारले पुववर्ति सरकारले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्नु पर्नेमा भत्काएको भन्दै सर्वत्र आलोचना भएको छ । पत्रकार महासंघका पुर्वअध्यक्ष तारानाथ दाहालले कृष्णप्रसाद भट्टराईको नाम हटाईनु ठुलो गल्ती भएको भन्दै सच्याउन सरकारलाई दवाव दिनु पर्ने बताउछन् । उनले तत्काल आन्दोलन गर्न युनियनलाई सुझाव दिएका छन् । युनियनका सल्लाहकार तथा पुर्व महासचिव शिव लम्सालले पनि तत्काल आन्दोलन गर्न युनियनमा आवद्ध पत्रकारहरुलाई आह्वान गरेका छन् ।
कांग्रेस स्वर्गिय नेता भट्टराईप्रति पूर्वाग्रही भएर वर्तमान सरकारले उनको नाममा खुलेको प्रतिष्ठानको नाम परिवर्तन गरेको हो ।
सरकारले सञ्चार मन्त्रालयस्तरीय निर्णयबाट मन्त्रिपरिषद्मा लान तयारी गरेको प्रतिष्ठान गठन आदेशमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ को नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखेको छ । सुशील कोइराला नेतृत्वको सरकारका तत्कालीन सञ्चार मन्त्री मिनेन्द्र रिजालको प्रस्तावमा मन्त्रिपरिषदले सन्त नेता भट्टराईको सम्मानमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ स्थापना गठन गर्ने निर्णय गरेको थियो । पत्रकार महासंघले समेत भट्टराईलाई पहिलो सभापतिको सम्मान दिएर केन्द्रीय कार्यालयमै भट्टराईको तस्वीर टाँसेको छ ।
सञ्चार मन्त्रालयले राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठन आदेश जारी गर्न प्रस्ताव गरी कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा लिखित सहमति माग गरिरहेको एक सरकारी अधिकारीले जनाए । कानुन र अर्थ मन्त्रालयले सहमति दिएपछि मन्त्रिपरिषदबाट अनुमोदन भएपछि मात्रै आमसञ्चार प्रतिष्ठान गठनको आदेश जारी गर्नेछ । मन्त्रिपरिषद्को आदेशपछि प्रतिष्ठानमा पदाधिकारी नियुक्ति र पत्रकारिताको प्रबद्र्धन तालिम, प्रशिक्षण सुरु हुने छन् ।