मेडिकल ल्याबोरेटरी एशोसियशन अफ नेपाल (मेलान) को स्थापना दिवसमा बृद्धाश्रममा खाद्यान्न तथा फलफूल प्रदान गरिएको छ । मेलानको १९ औं स्थापना दिवसको अवसरमा शनिबार मेलान रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा चालम, दाल, तेल लगायतका खाद्यान्न, साबुन, सरफ, हर्पिक लगातका सरसफाईका सामान तथा फलफूल वितरण गरिएको हो ।
त्यस अवसरमा बोल्दै आश्रमका अध्यक्ष महेश्वर श्रेष्ठले बृद्धबृद्धालाई सम्झेर आश्रमका गरेको सहयोग प्रति मेलानलाई आभार व्यक्त गर्नुभयो । उहाँले बृद्धबृद्धाले दुःख पाएको देखेर बुढेसकालमा कोही पनि घरबार बिहिन भएर एक्लो जीवन बाच्नु नपरोस भनेर बृद्धाश्रम स्थापना गरिएको जानकारी गराउनु भयो । उहाँले सबैको सहयोगबाट आश्रम सञ्चालन गरिएको बताउँदै उहाँले आगामी दिनमा पनि सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा मेलानका प्रदेश उपाध्यक्ष मानबहादुर श्रेष्ठ र मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले संस्थाको बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि संस्थाको निरन्तर सहयोग रहने भनाई राख्नुभयो ।
त्यसैगरी स्थापना दिवसकै अवसरमा शनिबार जिल्लाका सबै ल्यावमा निल्शुल्क सुगर परीक्षण गरिएको मेलान रुपन्देहीका अध्यक्ष पौडेलले बताउनु भयो । उहाँका अनुसार स्थापना दिवसको अवसरमा १०९ जनाको निःशुल्क सुगर परीक्षण गरिएको छ ।