नेपाल सुपर-८ को दौडबाट बाहिरियो

1.3K

नेपाल सुपर-८ को दौडबाट बाहिरियो

नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा सुपर-८ को दौडबाटै बाहिरिएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी टी-२० विश्वकपमा समूह डी मा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै सुपर-८ यात्राबाट बाहिरिएको हो ।
नेपाल समूह डी मा ३ खेलमा २ मा हार र १ मा नतिजाविहीन हुँदै १ अंकका साथ चौथो स्थानमा छ ।अन्तिम खेल नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ । उक्त खेल जितेपनि ३ अंक मात्रै हुन्छ ।
दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ अपराजित रहँदै सुपर-८ मा पुगेको छ । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ दोस्रो स्थानमा छ । त्यसैको कारण नेपालको यात्रा समूह चरणबाटै समाप्त हुने भएको छ । दक्षिण अफ्रिकाविरुद्ध नेपाल विजयी भएको खण्डमा ४ अंकका साथ सुपर-८ खेल्ने सम्भावना कायमै रहन्थ्यो ।
११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपाललाई अन्तिम २ बलमा जित्न २ रन चाहिएको थियो । तीव्र गतिका बलर आटनिल बार्टमानले दुवै बल गुलशन झालाई डट राख्दै नेपाललाई १ रनको हार व्यहाेर्नु परेकाे हाे । अन्तिम बलमा गुलशनले बल छुन नसके पनि नन स्ट्राइकमा दौडिनेक्रममा ब्याट राख्न थोरै ढिलो भएपछि रन आउट भए ।
नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौका र चौथो बलमा दुई रन बटुलेका थिए ।