७२ जिल्लामा फैलियो डेंगु : १,१७५ जनामा संक्रमण

19

७२ जिल्लामा फैलियो डेंगु : १,१७५ जनामा संक्रमण

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष ७२ जिल्लामा फैलिईसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ बाहेक ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् ।
गत पुसको मध्यदेखि हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।
एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।
डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको स्थान वर्षाको पानी जम्ने ठाउँ, जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा अण्डा पार्ने गर्छ ।
डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, वान्ता हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भएको मानिन्छ ।