राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई परीक्षाको परिणाम अनुसार लुम्बिनी प्रदेशमा ३१ हजार १०३ जना विद्यार्थी कक्षा ११ मा पढ्न पाउने भएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट गएको एसईई परीक्षामा ८० हजार ३२७ जना सहभागी भएकोमा ३१ हजार १०३ जना विद्यार्थी पास भएका हुन् । परीक्षामा सहभागि भएका मध्ये ४९ हजार २२४ जना ननग्रेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले बिहिबार माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । लुम्बिनीमा ३८.७ प्रतिशत विद्यार्थी पास भएका छन् ।
एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड भएका छन् ।
मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी मध्ये ४२ हजार २८६ जना, कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी मध्ये ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएकोमा २० हजार २७५ जना, कर्णाली प्रदेशबाट ३५ हजार ३४ जना सहभागी भएकोमा २० हजार ३८० जना विद्यार्थी ननग्रेड भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् ।