नेपाल व्यूटिसियन संघको स्थापना दिवसमा मंगलबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल व्यूटिसियन संघ रुपन्देहीको १७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा २६ जनाले रक्तदान गरेको संघकी रुपन्देही जिल्ला अध्यक्ष अनिता केसीले जानकारी गराउनु भयो । रक्तदान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले व्यूटिसियन संघले महिला उद्यमशिलता विकाससंगै रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पु¥याएको भनाई राख्नुभयो ।
संघकी अध्यक्ष अनिता केसीले संघले महिलामा उद्यमशिलता विकास, स्वरोजगार तथा रोजगारी सिर्जना र ट्रेड युनियन आन्दोलनमा ससक्त भूमिका निर्वाह गरेको बताउँदै यसले महिलालाई राजनीतिक चेतनाको समेत विकास गराएको दावी गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, व्यूटिसियन संघकी प्रदेश अध्यक्ष विष्णु थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघकी उपाध्यक्ष जुना रानाको स्वागत तथा सदस्य पल्लवी न्यौपानेको सञ्चालनमा भएको थियो ।