काठमाडौं । रंगेली घटनाको विषयलाई लिएर व्यवस्थापिका संसदमा प्रमुख सत्तारुढ नेकपा एमाले र मुख्य प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच जुहारी चलेको छ ।व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा एमालेका सांसदहरुले संविधानप्रदत्त शान्तिपूर्ण सभा गर्न पाउने अधिकारमाथि मधेसी मोर्चाका कार्यकर्ताहरुले हस्तक्षेप गर्न खोजेकाले रंगेलीमा दुःखद घटना भएको बताएका छन् । कांग्रेसका सांसदले भने एमालेमाथि मधेस जागरणका नाममा मधेसी जनता मार्दै हिँडेको आरोप लगाएका छन् ।बैठकको शुन्य समयमा एमाले सांसद चुडामणि जंगली विकले एमालेले मधेस जागरणका लागि राखेको शान्तिपूर्ण सभामा मधेसी मोर्चाका कार्यकर्ताले भाला र खुकुरीसहित आक्रमणको प्रयास गरेको आरोप लगाए ।बैठकमा विशेष समय लिएर एमालेका अर्का सांसद् यज्ञराज सुनुवारले मोर्चामाथि शान्तिपूर्ण सभा गर्न पाउने संवैधानिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाए ।जवाफमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् महेन्द्र यादवले संविधानले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकार पनि सुरक्षित गरेको भन्दै मोर्चाले विरोधको कार्यक्रम राखेको स्थानमा एमालेले सभा राखेर गल्ती गरेको बताए।मधेस जागरणका नाममा एमाले नेतृत्वको सरकार मधेसी जनताको हत्या गर्न उद्दत भएको आरोप लगाउँदै उनले दलहरुबीचको वार्ता सहमतिको नजिक पुगिरहेका बेला आन्दोलनमा पञ्चायती शैलीमाभन्दा पनि चर्को दमन गर्नुको कारण के हो ? भनेर प्रश्न गरे ।बैठकमा सत्तारुढ एकीकृत नेकपा माओवादीका सांसद् रामनारायण बिडारीले भूकम्प पीडितहरुले चिसोका कारण ज्यान गुमाउनुपर्ने तथा आमजनताले महङ्गीका कारण बाँच्नै नसक्ने स्थिति निम्तिनुले देशमा सरकार नै नभएको जस्तो अवस्था उत्पन्न भएको बताए । उनले देशमा सरकार छ कि छैन ? भनेर प्रश्न गरे ।बैठकमा सत्तारुढ नेकपा एमालेकै सांसदद्वय जयन्ती राई र जीवनकुमारी घिमिरेले पनि कालोबजारी र महङ्गीका कारण आम जनताको दैनिकी निकै कष्टपूर्ण हुँदा समेत सरकारको उपस्थिति कहिँकतै नदेखिनु दुर्भाग्यपूर्ण भएको बताए ।आधा दर्जन मधेसवादी दलका सांसदहरुले भने सरकार मधेस आन्दोलन सम्बोधनका लागि गम्भिर हुनुको साटो आन्दोलन दबाउनमा केन्द्रीत भएको भन्दै विरोधस्वरुप बैठक वहिष्कार गरेका थिए ।