स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको छ । अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ ।
मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायतका ९ वटा निर्णय गरिएको हो । सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न पहिलो नम्बरमै निर्णय गरिएको छ ।
त्यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि मन्त्रालयले गरेको परिपत्रमा उल्लेख गरिएको छ । चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्ने मन्त्रालयले निर्णय गरेको छ ।
अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने पनि निर्णय गरिएको छ ।
अस्पतालले प्रदान गर्ने सेवा व्यवस्थित बनाउनको लागि कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी सबैले देख्ने गरी नक्सा टाँस्नुपर्ने वा स्वयंसेवक परिचालन गर्नुपर्ने र सोधपुछ, सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी र सफा शौचालयको व्यवस्था मिलाउने पनि निर्णय गरिएको छ ।