बुटवलमा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर शिविर

1.3K

बुटवलमा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर शिविर

लायन्स क्लवको आयोजनामा शनिबार बुटवलमा निःशुल्क क्यान्सर परीक्षण शिविर गरिएको छ । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवी तथा नेवा सेवा समिति र नेवा महिला समिति बुटवलको आयोजनामा निःशुल्क महिलामा हुने पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविर गरिएको हो ।
शिविरमा ८७ जनाले आफूलाई क्यान्सर भए/नभएको परीक्षण गराएका थिए । जसमा ५ जनामा क्यान्सर पोजेटिभ देखिएको लायन्स क्लव अफ तिलोत्तमा मायादेवीकी अध्यक्ष तारा श्रेष्ठले जानकारी गराउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँ स्थित नेवा सेवा समितिको भवनमा गरिएको शिविरमा डा. सतिस खतिवडाको टिमले उनीहरुको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा आएका विरामीलाई आवश्यक परामर्श तथा औषधि समेत निःशुल्क वितरण गरिएको उहाँले जानकारी गराउनु भयो ।
शिविरमा बोल्दै लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले लायन्सले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका विभिन्न क्षेत्रमा केन्द्रीत भएर सामाजिक सेवाका कार्यहरु गर्ने बताउँदै बुटवलका लायन्स क्लव अफ बुटवल तिलोत्तमा र लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवीले क्यान्सरलाई फोकस गरेर कार्यक्रम गरेकामा आभार व्यक्त गर्नुभयो ।
त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलमा क्यान्सर अस्पताल नहुँदा विरामीहरु चितवन तथा काठमाण्डौ र भारतका विभिन्न अस्पतालमा जानुपर्ने वाध्यताका विचमा क्यान्सर भएनभएको परीक्षण शिविर राखेर क्लवले स्रहानीय काम गरेको बताउनु भयो ।
कार्यक्रममा लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष उपेन्द्रमान श्रेष्ठ, लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष तारा श्रेष्ठ, नेवा सेवा समिति बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।