बुटवलको ग्रामिण नरैनापुर आधारभूत विद्यालयमा लायन्सद्वारा चमेनागृह भवन शिलान्यास

1.3K

बुटवलको ग्रामिण नरैनापुर आधारभूत विद्यालयमा लायन्सद्वारा चमेनागृह भवन शिलान्यास

बुटवलको ग्रामिण क्षेत्रमा रहेको नरैनापुर आधारभूत विद्यालयमा चमेना गृह भवनको शिलान्यास गरिएको छ । लायन्स क्लव अफ बुटवल तिलोत्तमा र लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायाँदेवीले संयुक्त रुपमा निर्माण गर्न लागेको चमेनागृहको मंगलबार लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले शिलान्यास गर्नुभएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुरमा आर्थिक तथा सामाजिक सशक्ति करणका लागि यी दुई क्लवले पाँच वर्षे लायन्स गाउँ कार्यक्रम सञ्चालन गरेका छन् । त्यसै अन्तरगत नरैनापुर आधारभूत विद्यालयमा चमेनागृह भवन निर्माण गर्न लागिएको लायन्स गाउँ कार्यक्रमका संयोजक तथा डिष्ट्रिक चिफ एड्र्भाइजर समेत रहनु भएका लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायाँदेवीका पूर्वअध्यक्ष खिमबहादुर हमाल बताउनु हुन्छ ।
लायन्स गाउँ कार्यक्रम अन्तरगत विगत दुई वर्षदेखि त्यस वडामा सीपमुलक तालिम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ भने संगसंगै नरैनापुर आधारभूत विद्यालयमा पनि विद्यालयको अवस्था सुधार गरी शैक्षिक गुणस्तर अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनु भयो ।
उहाँका अनुसार पाँच वर्षपनि आवश्यकता भएमा कार्यक्रमलाई निरन्तरता दिईने बताउँदै विद्यालयबाट पश्चिम पट्टी रहेको जग्गामा फलफूल गार्डेन बनाउन सकियो भने सुन्दरता पनि हुने र विद्यालयको आम्दानी पनि हुने भएकाले त्यसतर्फ सोच्न आग्रह गर्दै त्यसमा पनि लायन्स क्लव तयार रहेको भनाई राख्नुभयो ।
लायन्स गाउँ कार्यक्रम अन्तरगत उक्त विद्यालयमा प्रवेश गर्दा विद्यालयमा विद्यार्थी संख्या ६३ जना मात्रै थिए । त्यस्तै विद्यालयको अवस्था पनि राम्रो थिएन । अहिले विद्यालयलाई रंगरोगन गरेर चिटिक्क पारिएको छ भने परिषरमा बृक्षरोपण गरिएको । त्यस्तै विद्यार्थी संख्या पनि बढेर अहिले १८६ जना पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी पौडेलले बताउनु भयो । लायन्सको प्रेरणाले विद्यालयको आन्तरिक कार्यक्रम समेत सहज र प्रभावकारी रुपमा सम्पादन गर्न सकिएको बताउँदै अध्यक्ष पौडेलले विद्यालयको अवस्था सुधारमा विशेष योगदान गरेको भन्दै लायन्स क्लवप्रति आभार व्यक्त गर्नुभयो ।
२०२४ सालमा स्थापना गरिएको यो विद्यालयमा अहिले कक्षा ८ सम्म अध्ययन अध्ययापन हुँदै आएको छ । यो विद्यालयलाई राम्रोसंग सञ्चालन गर्न भन्दै स्थानीय स्व. मदनमान सिंमाङ्गैडाले झण्डै १० कट्ठा जग्गा दिनुभएको थियो । त्यसले पनि विद्यालय सञ्चालनका लागि फराकिलो भएको छ ।

चमेनागृह भवन शिलान्यास कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लव सेवाका लागि स्थापना भएको बताउँदै समुदायमा आएर सेवा गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि लायन्स सहकार्य गर्न तयार रहेको बताउँदै सम्भावित योजनाहरु छन् भने प्रस्ताव गर्न आग्रह गर्नुभयो ।
लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष उपेन्द्रमान श्रेष्ठले लायन्स गाउँ अन्तरगत क्लवको नयाँ नेतृत्व आएपछि विद्यालय परिषरमा बृक्षरोपण गरिसकिएको र आवश्यकताका आधारमा थप कार्यक्रम गरिने जानकारी गराउनु भयो । त्यस्तै लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायाँदेवीकी अध्यक्ष तारा श्रेष्ठले क्लवले धेरै काम गरेपनि एउटा एउटा कार्यक्रम गरेर छोड्दा त्यसको प्रभावकारीता खासै नदेखिएकाले निश्चित क्षेत्रलाई समेटेर निश्चित अवधिका लागि कार्यक्रम अगाडि बढाईएको बताउनु भयो । कार्यक्रममा लायन्सका फष्ट भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, लायन्स गाउँ कार्यक्रमका संयोजक खिमबहादुर हमाल लगायतले भनाई राख्नुभएको थियो ।