बुटवलका मुख्य २३ स्थानमा हाइमास्ट लाइट जडान

1.3K

बुटवलका मुख्य २३ स्थानमा हाइमास्ट लाइट जडान

बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएकाे छ । बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटर अग्ला लाइट जडान गरिएकाे हाे ।
हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उद्घाटन गर्नुभयाे ।
लाइटको उद्घाटन गर्दै पाण्डेयले बुटवललाई उज्यालो शहरका रुपमा विकसित गर्दै रात्रीकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्त रुप लिदै गरेको बताउनु भयाे । उहाँले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरुमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरु जडान गरिएको बताउनु भयाे । 
हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरिएकाे पनि उहाँले जानकारी गराउनु भयाे । बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा शहरका रुपमा स्थापित गर्नका लागि काम भइरहेको छ । मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रहरुमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेकाे पनि उहाँले जानकारी गराउनु भयाे ।

बुटवलकाे योगीकुटी, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान गरिएकाे छ ।
त्यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा र नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान गरिएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताउनु भयाे । 
उहाँका अनुसार टेण्डरमार्फत २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयांमा नेपाल पावर सोलुसन प्रालि हेटौडासंग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भइ फागुन २ गते शिलान्यास गरिएको थियो ।