
काठमाडौं/२३ वर्ष लामो समयपछि अर्न्तराष्ट्रिय प्रतियोगीता जित्न सफल नेपाली राष्ट्रिय फुटबल टिमको भव्य स्वागत गरिएको छ। बंगलादेशमा बंगबन्धु गोल्डकपको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टिमको शनिबार काठमाडौंमा भव्य स्वागत गरिएको हो।राष्ट्रिय झण्डासहित सयौंको संख्यामा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल पुगेका समर्थकहरुले खेलाडीहरू विमानस्थलबाट बाहिर निस्कनासाथ स्वागत गरे।खेलाडीको स्वागतका लागि राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवबहादुर विष्ट, अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, म्याच फिक्सिङको अनुसन्धान गरेका महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानहरू मणि शाह, राजुकाजी शाक्य, हरि खड्का लगायतका फुटबलप्रेमीहरू विमानस्थल पुगेका थिए।खेलाडीको स्वागतमा समर्थकहरुले नारा लगाए भने नेपाल प्रहरीले ब्याण्ड बाजा बजायो। खेलाडीहरुको स्वागतमा विमानस्थलबाट दशरथ रंगशालासम्म जुलुस निकालिएको छ। खेलाडीहरुलाई फूलले सजाइएको गाडीमा राखेर प्रहरीको स्कर्टिङसहित विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, भृकुटीमण्डप, न्युरोड, रत्नपार्कहुँदै रंगशालासम्म विजय जुलस निकालिएको हो।जुलुस निकालिएको सडक मार्गमा स्थानीयवासीहरुले समेत खेलाडीहरुलाई स्वागत गरेका थिए।