लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पिको पहिलो क्याविनेट बैठक रुपन्देहीको भैरहवामा हुने भएको छ । शनिबार आयोजना गरिएको पहिलो क्याविनेट बैठकको तयारी पुरा भएको पनि विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
भैरहवाको होटल सिद्धार्थ भिलासामा हुने एक दिने क्याविनेट बैठकमा १ हजार ४ सय जना भन्दा बढीको सहभागिता रहने डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले जानकारी गराउनु भयो । यो बैठकमा क्याविनेटमा मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराईने छ । त्यस्तै लायन्स इन्टरनेशनलले पहिचान गरी सञ्चालन गरेका सेवाका क्षेत्रहरु हङ्गर, भिजन, चाईल्डहुड क्यान्सर, इन्भायरमेन्ट, युथ, डाईवेटिज, डिजास्टर रिलिपफ, ह्युमानिटारियन ईफोर्टस सहित थप सामाजिक उद्यमशिलता विषयमा छलफल गरिने छ । त्यसैगरी डिष्ट्रिक गभर्नर प्रधानाङ्गले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुहुने कार्यक्रमकी संयोजक डिष्ट्रिक अन्तरगत एरिया ३ की चिफ शान्ति पाठकले बताउनु भयो ।
समुदायको आर्थिक पुनरुत्थानको लागि सामाजिक उद्यमशिलतालाई बिशेष महत्व दिईएको छ । त्यसको लागि लामो समयदेखि उद्यमशिलता प्रवद्र्धनको क्षेत्रमा कार्यरत लायन्स सदस्य मुकुन्द ज्ञवालीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । सामाजिक उद्यमशिलता प्रवद्र्धनको लागि कि नोट स्पिकरको रुपमा सामाजिक अभियान्ता उद्यमी खुस्वु ओलीलाई निम्त्याईएको डिष्ट्रिक गभर्नर प्रधानाङ्गले बताउनु भयो । कार्यक्रममा १५ जना वक्ताले विषयगत रुपमा सम्बोधन गर्नुहुनेछ । त्यरीगरी अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको पनि उहाँले जानकारी गराउनु भयो ।
सन् १९१७ मा सिकागोमा सुरुवात भएको लायन्स क्लव संसारभर ४९ हजार ३०६ वटा क्लवमा १३ लाख ९२ हजार ५९० सदस्य आवद्ध छन् । नेपालमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोईरालाले १९७१ मा भित्र्याउनु भएको थियो । हाल नेपालमा १ हजार ९९६ वटा क्लवमा ४३ हजार २१३ सदस्य आवद्ध छन् । त्यस्तै लायन्स डिष्ट्रिक ३२५ पि मा १४९ वटा क्लबमा ३ हजार ३२९ जना सदस्य सेवाका काममा सक्रिय रहेको डिष्ट्रिक गभर्नर प्रधानाङ्गले जानकारी गराउनु भयो ।
लायन्स मार्फत नेपालमा आँखा अस्पताल सञ्चालन, डेन्टल क्लिनिक, ब्लड बैंक सञ्चालन, भूकम्प पछि १८ विद्यालयमा पुनःनिर्माण, जाजरकोटका भूकम्प प्रभावितलाई राहत तथा विद्यालय पुनःनिर्माण, निःशुल्क एम्बुलेन्स सेवा, कर्णाली प्रदेशमा सरकारी विद्यालयमा दिवा खाजाको व्यवस्था, डाईविटिज स्कृनिङ क्याम्प लगायतका परियाजना सञ्चालन भईरहेको उहाँले जानकारी गराउनु भयो ।