लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयन हुनु भएको छ । शनिबार बुटवलमा बसेको संसदीय दलको बैठकले दलको उपनेता रहेका मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेतालाई छाडेर पार्टीले उपनेतालाई मुख्यमन्त्री बनाएपछि रुष्ट बनेका दलको नेता तथा पूर्वमख्यमन्त्री लिला गिरीले आचार्य मुख्यमन्त्री नियुक्ति भएकै दिन गएको साउन ७ गते दलको नेताबाट राजीनामा दिनुभएको थियो ।
त्यस्तै दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोकालाई चयन गरिएको सो पार्टीले जनाएको छ । यस अघि प्रमुख सचेतक रहेका चौधरीले पनि राजीनामा दिनुभएको थियो ।
यद्यपी चौधरीको राजीनामा अस्वीकृत भएको छ । सचेतक रहेकी सीता शर्मा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेपछि सचेतकमा रोकालाई चयन गरिएको हो । बैठकमा संसदीय दलको नेताबाट राजीनामा दिएका गिरी भने उपस्थित हुनु भएको थिएन ।