रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोधनको सहकार्यमा रक्तसञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक भगवती अर्यालले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले रक्तदान जीवनदान भएकाले स्वस्थ्य मानिसलाई रक्तदानमा प्रेरित गर्न सकियो भने रगतको अभाव नहुने र रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनु भयो । उहाँले ग्रामिण समाजमा अझै पनि रक्तदान गर्न कमजोर भईन्छ भन्ने कमजोर सोंच रहेको बताउँदै त्यसलाई चिर्नको लागि रक्तदानमा क्रियाशिल संस्थाहरु लाग्नुपर्ने बताउनु भयो ।
त्यस्तैगरी स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान गर्नु स्वस्थ्य रहेको प्रमाण भएको बताउँदै स्वस्थ्य मानिसले रक्तदान गर्दा क्यान्सर लगायतका रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताउनु भयो ।
क्लवका अध्यक्ष देवीराम पाण्डेले रक्तदान जीवनदान भएको बताउँदै रगतको अभाव हुन नदिन र रक्तदानका लागि युवाशक्तिलाई प्रेरित गर्नको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा क्लवका पूर्वअध्यक्ष तथा डिष्ट्रिक सेक्रेटरी कृष्णप्रसाद शर्माले रक्तदानको बारेमा चर्चा गर्दै सामाजिक संस्था स्वास्थ्यका क्षेत्रमा समेत क्लव निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । कार्यक्रम क्लवका संस्थापक अध्यक्ष डोलराज गैरेको स्वागत तथा सचिव अर्जुनप्रसाद आचार्यको सञ्चालनमा भएको भयो ।