मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन एमालेले ह्वीप जारी गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो । मुख्यमन्त्री आचार्यले आगामी मंगलबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । लामो समय वितिसक्दा पनि एमालेमा दल नेता चयन हुन नसकेको र काँग्रेसभित्र मन्त्री छनोटको किचलोले सरकारले पूर्णता पाउन सकेको छैन ।
अहिले मुख्यमन्त्रीसहित लुम्बिनीमा एमालेका ५ र कांग्रेसका ४ मन्त्री छन् । कांग्रेसले थप एक मन्त्री सिफारिस गर्न बाँकी छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा २ मन्त्रालय साना दलका लागि राखिएको बताइएको छ । तर, सरकारलाई समर्थन गरेका लोसपा, जसपा र नागरिक उन्मुक्ति तिनवटै दलले मन्त्रालयमा दावी गरेका छन् ।
लुम्बिनीमा सरकारलाई समर्थन गर्ने दलबाट नागरिक उन्मुक्ति पार्टीका ४, जनमत ३, लोसपा ३, जसपा २, जसपा नेपाल १ जना प्रदेश सभा सदस्य छन् । त्यस्तै ८७ सदस्यीय प्रदेशसभामा प्रतिपक्षमा रहेका माओवादीका १०, राप्रपाका ४, नेकपा एकिकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र एक÷एक प्रदेश सभा सदस्य रहेका छन् ।